Logo

खेलकुद

नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य



काठमाडौं । आइसिसी यू-१९ विश्वकपअन्तर्गत सुपर-६ को खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अलआउट भयो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए ।

सुपर सिक्स खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएपछि नेपालले दीपक डुम्रेको स्थानमा विशाललाई मौका दिएको थियो ।

कप्तान देव खनाल ६० बलमा ३ चौकासहित ३५ रनमा आउट भए । सुवास भण्डारी ३४ बलमा १८ रनमा नट आउट रहे । दुर्गेश गुप्ता १४ बलमा १ छक्कासहित ९ रनमा आउट भए ।

एक समय ८.३ ओभरमा २९–३ को अवस्थामा पुगेको नेपालका लागि देव र विशालले ११५ बलमा ६२ रनको साझेदारी गरेका थिए । उक्त साझेदारीले नेपाल एक समय २७.३ ओभरमा ९१–३ को अवस्थामा थियो ।

तर देव जिशान आलमको बलमा कभरमा क्याच आउट भएपछि नेपालले लगातार विकेट गुमाउँदा बलियो योगफल बनाउने अवसर गुमाएको थियो ।

गुल्शन झा, दीपक बोहरा र दीपेश कँडेल ३–३ रनमा आउट भएपछि नेपाल समस्यामा परेको थियो । गुल्शन यू-१९ एसिया कपपछि विश्वकपमा पनि चल्न सकेनन् ।

यस विश्वकपमा गुल्शन न्युजिल्यान्डसँग २, पाकिस्तानसँग १८ र अफगानिस्तानसँग १ रनमा आउट भएका थिए ।

बंगलादेशका तीव्र गतिका बलरले सुरुवात देखिनै सट र बाउन्सर बलमा नेपाली ब्याटरलाई दबाबमा राखेका थिए । अर्जुन कुमाल २६ बलमा २ चौकासहित १४ रनमा आउट भए । विपिन रावल २ र आकाश त्रिपाठी ३ रनमा आउट भएपछि नेपाल ८.३ ओभरमा २९–३ को अवस्थामा पुगेको थियो ।

बंगलादेशका रोहनत दोउल्लाह बोर्सनले ८.५ ओभरमा २ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । शेख प्रवेज जिवनले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले १-१ विकेट लिए ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १७:२८   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।