काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तको खुद नाफा ३९.३६ प्रतिशतले घटेर १ करोड २४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी घटेसँगै खर्च बढेपछि लघुवित्तको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.२० प्रतिशतले घटेर १२ करोड ८४ लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्षको सोही अवधिमा संस्थाले १४ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सो अवधिसम्म लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३९.४६ प्रतिशत घटेर एक करोड ७८ लाख रुपैयाँमा खुम्चिएको छ । पुस मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा २ करोड ४६ लाख रुपैयाँ रहेको छ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४ रुपैयाँ ४४ पैसा घटेर ६ रुपैयाँ ८० पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ८८.३२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३९ पैसा रहेको छ।
३६ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्त निक्षेप तथा सापटी १०.७९ प्रतिशत घटेको छ भने कर्जा ७.१९ प्रतिशत घटेको छ।




















प्रतिक्रिया