काठमाडौं- नेपालले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ। यो खेल त्रिभुवन विश्वविद्यालय खेल मैदान, कीर्तिपुरमा बिहान ९:१५ बजेदेखि सुरु हुनेछ।
यसअघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ। नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले र दोस्रो खेल ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो। नेपालले अब अन्तिम खेलमा जित हासिल गरेर सिरिज क्लीन स्वीप गर्ने प्रयास गर्ने छ। क्यानडाले सिरिजमा सान्त्वना जित हासिल गर्ने प्रयास गर्ने छ।
नेपालले यो सिरिजपछि आइसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणीय सिरिज खेल्ने हुनाले क्यानडाविरुद्धको सिरिजलाई तयारीको रूपमा हेरेको छ।
सोही कारणले नेपालले युवा खेलाडीलाई अवसर दिने रणनीति बनाउँदै टिममा रहेका सबै खेलाडीलाई खेल्ने अवसर दिएको छ।
जारी श्रृंखलामा जित हात नपारे पनि क्यानडाले नेपाललाई कडा टक्कर भने दिइरहेको छ। उसले पहिलो खेलमा नेपाललाई २ सय २४ रनमै अलआउट गर्दा लक्ष्य पछ्याउनेक्रममा २ सय १७ रन बनायो। यस्तै, दोस्रो खेलमा पहिला ब्याटिङ गर्दै क्यानडाले नेपाललाई २ सय ८६ रनको बलियो लक्ष्य दियो।
यद्यपि यस खेलमा उसले बलिङमा भने सन्तोषजनक प्रदर्शन गर्न सकेन। क्यानडाको कमजोर बलिङको फाइदा उठाउँदै नेपालले २ सय ८६ रनको लक्ष्य ४५.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। नेपालको जितमा कप्तान रोहितकुमार पौडेल, यू–१९ कप्तान देव खनाल तथा ओपनर अनिल साहले अर्धशतकीय पारी खेले। यस खेलमा रोहितले १ सय १ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८७ रन बनाए।
यस्तै, देवले ८१ बलमा ७ चौका र २ छक्काको मद्दतमा ७६ रनको इनिङ खेले। रोहित र देवबीच तेस्रो विकेटका लागि १६४ बलमा १५० रनको साझेदारी बन्यो। नेपालको तर्फबाट एकदिवसीयमा तेस्रो विकेटका लागि बनेको यो नै अहिलेसम्मको ठूलो साझेदारी हो। यस्तै, सिरिजको दोस्रो खेलमा अनिलले २० बलमा ७ चौका र ३ छक्कासहति ५० रनको आक्रामक पारी खेले।
योसँगै उनी एकदिवसीयमा कम बलमा अर्धशतक बनाउने नेपाली ब्याटर बने। अनिलले १९ बलमै अर्धशतक बनाएका हुन्। तेस्रो खेलमा पनि नेपाल ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ।
तेस्रो खेलमा नेपालको सम्भावित प्लेइङ–११ : अनिल साह (विकेटकिपर), कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), देव खनाल, कुशल मल्ल, पवन सर्राफ, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द, सूर्य तामाङ र हेमन्त धामी।




















प्रतिक्रिया