Logo

खेलकुद

क्यानडाविरुद्धको एकदिवसीय शृंखलामा नेपालको क्लिन स्वीप

तेस्रो खेलमा अनिल र भीमको सतक



काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार नेपालले क्यानडालाई नौ विकेटले हराएको छ । जितसँगै नेपालले तीन खेलको शृङ्खला ‘क्लिन स्वीप’ गरेको हो ।

पहिले ब्याटिङ गर्दै क्यानडाले २ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त लक्ष्य ३३ बल अगावै मात्र १ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि अनिल साह र भीम सार्कीले शतकीय पाली खेले । साहले नटआउट रहँदै ११२ तथा भीम सार्कीले नटआउट रहँदै १०१ रन बनाए ।

नेपालले एकमात्र विकेटको रुपमा १३ रन बनाएका कुशल भुर्तेललाई गुमाएको थियो । यसअघि नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।

अनिल र भीमले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारी पनि बनाए । दोस्रो विकेटका लागि यी दुईले १ सय ८९ रनको साझेदारी गरे ।

नेपालबाट ओडीआईमा शतक पूरा गर्ने अनिल सातौं र भीम खेलाडी बने । अनिल शतक प्रहार गर्ने दोस्रो विकेटकिपर समेत हुन् ।

अनिलले आफूले सामना गरेको सुरुवाती ४ बलमा लगातार चौका प्रहार गरेका थिए । इनिङको दोस्रो ओभरमा उदय भगवानलाई आक्रमण गर्दै उनले आफ्नो लयलाई निरन्तरता दिएका थिए । उनले ५१ बलमा अर्धशतक पूरा गरेका थिए ।

अनिल र कुशलले पहिलो विकेटका लागि ४५ रन जोडेका थिए । कुशलले १४ बलमा ३ चौकासहित १३ रनको योगदान दिए ।

नवनित धलिवलको अर्धशतकसँगै निखिल दत्त र कप्तान साद बिन जफरले क्यानडालाई सामान्य स्कोरसम्म पुर्याएका थिए ।

धलिवलले ५० रन जोड्दा निखिल दत्त ४५ रनमा रनआउट भए । कप्तान सादले अन्त्यतिर १५ बलमा आक्रामक ३१ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरेपछि क्यानडाले स्कोरमा सुधार गरेको थियो । नेपालका लागि डेब्यु गरिरहेका हेमन्त धामीले ३ विकेट लिए ।

ओपनर आरोन जोन्सन ४ रन जोड्दै डेब्यु गरिरहेको हेमन्तको शिकार बनेका थिए । ठूलो सट खेल्ने धुनमा एज लाग्दै उनी थर्ड म्यानमा देवको हातबाट समातिए । दोस्रो विकेटका लागि ओपनर नवनित धलिवल र श्रीमन्थ विजयरत्नेले ४८ रनको साझेदारी गरे । विजयरत्ने २२ रन जोड्दै आकाश चन्दको शिकार बनेपछि क्यानडा ५५-२ मा पुगेको थियो ।

निकोलस किर्तन ३ रन जोड्दै कुशल मल्लको बलमा क्याच आउट भए । ओपनर नवनित धलिवल अर्धशतक पूरा गर्नेबितिक्कै क्याच आउट भएपछि क्यानडा १०१-४ को स्थितिमा पुग्यो । २७ औं ओभरमा आउट भएका उनले ८२ बलमा ५ चौकासहित ५० रन जोडे ।

हर्ष ठाकर २९ रन जोड्दै कुशल मल्लकै एलबीडब्लु धरापमा परे । उनले ४८ बलमा १ छक्कसहित २८ रनको योगदान दिए । निखिल दत्त र हर्षले छैटौं विकेटका लागि ५४ रनको साझेदारी गर्दै रनगति बढाएका थिए ।

विकेटकिपर श्रेयस मोभाले २९ बलमा १ चौकासहित २५ रन जोडे । उनी हेमन्तको बलमा क्याच आउट भए । निखिल दत्त ४५ रन जोड्दै रनआउट भए । ६२ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरेका उनी दोस्रो रन जोड्ने क्रममा रनआउट भएका थिए ।

डिलोन हेलिगर ४ रन जोड्दै हेमन्तकै बलमा क्याच आउट भए । हेमन्तले ३ विकेट लिँदा कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले १-१ विकेट हात पारे ।

 

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १६:०८   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।