काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको शुक्रबारको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई जितका लागि २०४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ४१.३ ओभरमा अलआउट हुनुअघि २०३ रन बनाएको हो ।
नामिबियाका लागि ज्यान निकोल लोफ़्टि-इटनले सर्वाधिक ४९ रन बनाए । यस्तै डेब्यु गरिरहेका मलान क्रुगरले ३९ रन जोडे ।
ओपनर निकोलास दाभिन शुन्यमा पहिलो ओभरमा नै पेभेलियन फर्किएका थिए । उनी भिभियान किङमाको बलमा क्याच आउट भए । तेस्रो नम्बरमा आएका माइकल भ्यान लिङ्गेन पनि १० रन मात्र बनाएर किङमाकै बलमा बलरद्वारा नै क्याच आउट भए ।
कप्तान जेर्हार्ड इरासमस पनि धेरै बेर क्रिजमा टिक्न सकेनन् । उनी २२ बलमा १२ रन बनाएर रुलफ भ्यान डर मर्वाको बलमा नोआह क्रोएसद्वारा क्याच आउट भए । त्यसपछि आउट हुने आजको खेलमा डेब्यु गरिरहेका ओपनर मलान क्रुगर थिए । उनलाई ४८ बलमा ५ चौकासहित ३९ रनमा आर्यन दत्तले बोल्ड गरेका थिए ।
७६ रनमा कृगर आउट भएपछि क्रिजमा आएका जेजे स्मिट पनि पहिलो बलमा नै शुन्यमा दत्तको शिकार बने ।
छैठौ विकेटका लागि ज्यान फ्राईलिंक र ज्यान निकोल लोफ़्टि-इटनले मिलेर ७८ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । साझेदारी फ्राईलिंक ५७ बलमा ३४ रन बनाएर शारिज अहमदको बलमा आउट भएसँगै टुटेको थियो ।
सोहि ओभरमा लोफ़्टि-इटन ४९ रनमा रनआउट हुन पुगे । ३० यार्ड सर्कल भित्र नै रहेको बलमा रन लिन जाँदा उनी रन आउट भएका थिए । नवौ विकेटका रुपमा बर्नार्ड स्कोल्ज शुन्यमा भ्यान डर मर्वाको बलमा क्याच आउट भए ।
नेदरल्याण्ड्सका लागि भिभियन किङ्गमाले सर्वाधिक ३ विकेट लिए । यस्तै आर्यन दत्त र रुलफ़ भ्यान डर मर्वाले समान २-२ विकेट लिँदा शारिज अहमद र बास डे लिडाले १-१ विकेट लिए ।




















प्रतिक्रिया