Logo

खेलकुद

नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य



काठमाडौं । निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै नामिबियाले त्रिकोणात्मक टी–२० सिरिजमा नेपाललाई २०७ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा मंगलबार भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।

लोफ्टी इटनले १०१ रन बनाए । अन्तिम ओभरमा क्याचआउट हुनुअघि उनले ३६ बलमा ११ चौका र ८ छक्कासहित १ सय १ रन जोडे । उनले ३३ बलमा शतक पूरा गर्दै नेपालका कुशल मल्लले राखेको कीर्तिमान तोडेका थिए । कुशलले सन् २०२३ को १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएका थिए ।

नामिबियाका ओपनर मलान क्रुगरले ४८ बलमा ६ चुअका र २ छक्कासहित नटआउट ५९ रन जोडे । लफ्टि-इटन र क्रुगरले ५४ बलमा १ सय ३५ रनको साझेदारी गरेका थिए । नेपालले अन्तिम ९ ओभरमा १ सय ४० रन खर्चेको थियो ।

ओपनर माइकल भान लिंगेन १९ बलमा २० रन जोड्दै करण केसीको बलमा क्याच आउट भए । छैटौं ओभरमा उनी आउट हुँदा टोलीको ३६ रन थियो । नवौं ओभरमा जेपी कोट्जे ९ बलमा ११ रन जोड्दै पेभेलियन फर्किए । रोहितको बलमा कोट्जे विवेक यादवको उत्कृष्ट क्याचको शिकार बने ।

११औं ओभरमा जान फ्रिलिंक आउट हुँदा नामिबिया ६२-३ को स्थितिमा थियो । तर त्यसपछि लोफ्टि-इटन र मलान क्रुगरको साझेदारीले नेपाल संकटमा परेको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक/एक विकेट लिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार १३:२२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।