Logo

खेलकुद

नामिबियामाथि नेपालको रोमाञ्चक जित



काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ ।

नेपालले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन जोड्न सक्यो ।

नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन जोड्यो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।

७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रनमा आउट भए ।

सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार १५:१२   :  बजे

351
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।