Logo

अर्थ

अब बैंकहरुले स्थानीय तहको पैसालाई निक्षेपको रूपमा गणना गर्न नपाउने



काठमाडौं । अब वाणिज्य बैंकहरुले स्थानीय तहको पैसालाई निक्षेपको रूपमा गणना गर्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले यसअघिका अर्थमन्त्री प्रकाशशरण महतले ६० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाउने निर्णय उल्ट्याउँदै स्थानीय तहमा जाने पैसालाई निक्षेपको रुपमा गणना गर्न नदिने निर्णय गरेको हो ।

अर्थमन्त्री महतले चैत मसान्तसम्म ६० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरेका थिए। तर अर्थमन्त्री वर्षमान पुनले सो व्यवस्था हटाएका हुन् ।

माओवादीकै पूर्बअर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमा जाने निक्षेपको ८० प्रतिशत पैसा बैंकहरुलाई निक्षेपको रुपमा गणना गर्न दिने व्यवस्था गरेका थिए । सो पश्चात प्रकाश शरण महतले यो सीमालाई केहि घटाएका थिए ।

अर्थ मन्त्रालयले वाणिज्य बैंकहरुलाई स्थानीय तहमा जाने अनुदान रकम निक्षेपको रुपमा गणना गर्न गर्न नदिने सोमबार नै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ ।

योसँगै अब बैंकहरुको ६० अर्ब रुपैयाँ निक्षेप घट्ने भएको छ । स्थानीय तहमा जाने अनुदानको ६० प्रतिशत रकम निक्षेपको रूपमा गणना गर्न नपाएपछि बैंकहरुको ६० अर्ब रुपैयाँ निक्षेप घट्ने भएको हो ।

पछिल्लाे समय बैंकहरुमा लगानीयोग्य रकम अधिक भएर सिडि रेशियो ८० प्रतिशतभन्दा पनि तल झरेको अवस्था थियो । यसले गर्दा अर्थमन्त्रालयले अहिलेलाई स्थानीय तहमा जाने पैसा निक्षेपमा गणना गर्न नदिने निर्णय गरेको हो । तर अहिले बैंकहरुसँग ६ खर्ब बढीको लगानीयोग्य रकम रहेको कारण यसले ठूलो असर नपार्ने बैंकरहरु बताउँछन् ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार ११:२४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।