Logo

खेलकुद

नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’सँग पराजित



काठमाडौं । नेपाल ‘ए’ पहिलो एकदिवसीय अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ सँग २२ रनले पराजित भएको छ । १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमा अल आउट भयो ।

नेपालले छैटौं ओभरमा ओपनर देव खनाललाई २६ रनमा गुमाउँदा स्कोर ३५-१ को स्थितिमा थियो । उनले २२ बलमा ४ चौकासहित २६ रन जोडे । तर त्यसपछि लगातार विकेट पतन हुँदा नेपाल ‘ए’ ५६-६ को दयनीय स्थितिमा पुग्यो ।

अर्जुन कुमाल ९ रन जोड्दा भीम सार्की गोल्डेन डक आउट भए । आरिफ शेख शून्य, अर्जुन साउद ४ र विनोद भण्डारी ९ रनमा आउट भए । कमल सिंह ऐरी ६ रन जोड्दै आउट हुँदा नेपाल ७८-७ को स्थितिमा पुग्यो ।

बसिर अहमद २१ बलमा २० रन जोडेर पेभेलियन फर्किए । साहब आलमले त्यसपछि रन गति बढाएपनि उनी २५ औं ओभरमा क्याच आउट भए । ३४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका उनी ३७ रन जोड्दै बाउन्ड्रीनजिक आउट भए । अर्को ओभरमा श्याम र रिजनबीच समन्वय नहुँदा रनआउटसँगै नेपाल अलआउट भयो ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ ३९ औं ओभरमा मात्र १ सय ५७ रन जोडेर अलआउट भयो । कमलले अन्तिम ३ विकेट ह्याट्रिकसहित कुल ४ विकेट लिएर आयरल्यान्डको तल्लोक्रम धराशायी पारे । वल्भ्सका केड कार्माइकलले सर्वाधिक ५१ रन जोडे ।

वल्भ्सले छैटौं ओभरमा जेम्स मकलमलाई १२ रनमा गुमायो । रिजन ढकालले उनलाई विकेटकिपरको हातबाट क्याच आउट गराए । नवौं ओभरमा डोहेनी पनि १२ रनमै साहब आलमको एल्बीडब्लु धरापमा परे ।

पिटर मुर २१ रनमा श्याम ढकालको बलमा बोल्ड हुँदा वल्भ्स ६१-३ को स्थितिमा पुग्यो । कप्तान निल रक र कार्माइकलले चौथो विकेटका लागि ६५ रनको साझेदारी गरे । रक ३२ बलमा ३९ रन जोड्दै कमलको बलमा एलबीडब्लु आउट भए ।

त्यसपछि वल्भ्सले लगातार विकेट गुमाउन पुग्यो । डेलनी ६ रन जोड्दै श्यामको एलबीडब्लु शिकार बने । फिओन ह्यान्ड पहिलो बलमै रन जोड्ने धुनमा रनआउट भए । कार्माइकल ३७ औं ओभरमा साहबको बलमा क्याच आउट भए । त्यसपछि कमलले ३९ औं ओभरको सुरुवाती ३ बलमा विकेट लिए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १५:१२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।