Logo

खेलकुद

नेपाल बरोडासँग ३७ रनले पराजित, फाइनलमा आइतबार नेपाल र गुजरात खेल्ने



काठमाडौं । ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले लिग चरणको अन्तिम खेलमा हार ब्यहोरेको छ । शुक्रबार खेलिएको लिग चरणको अन्तिम खेलमा बरोडा क्लबले नेपाललाई ३७ रनले हराएको हो ।

बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमा अलआउट भएको हो । नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ५६ रन बनाए ।

पहिले ब्याटिङ गरेको बरोडाले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । बरोडाका लागि शाश्वत रावतले ३१, अमित पासीले २६ र मोहित मोङ्गीयले २२ रन बनाए ।

नेपालका लागि करण केसी र गुल्शन झाले २/२ तथा ललित राजवंशी, आकाश चन्द र प्रतिश जिसीले १/१ विकेट लिए ।

नियमित कप्तान रोहिन पौडेललाई आराम दिँदै दीपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदान उत्रिएको नेपाल यसअघि नै फाइनलमा पुगिसकेको छ । बरोडा भने लिग चरण मै रोकिएको छ ।

आइतबार हुने फाइनलमा नेपाल र गुजरात आमने सामने हुनेछन्।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार १७:०२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।