Logo

खेलकुद

नेपाल आयरल्यान्ड ए सँग ६९ रनले पराजित



काठमाडौं । युवा ओपनर अर्जुन कुमालको शतकको बाबजुद नेपाल ए तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आयरल्यान्ड ए सँग ६९ रनले पराजित भएको छ ।

२८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमा अल आउट भयो । ओपनर अर्जुन कुमालले ११८ बलमा १४ चौकासहित १०२ रनको शतकीय इनिङ खेले । अर्का ओपनर अर्जुन साउद ३० बलमा ४ चौका र ३ छक्कासहित ३६ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो गर्न सकेनन् । देव खनाल ११, नरेन भट्ट १५, विनोद भण्डारी ४, भीम सार्की डक र रुपेश सिंह १५ रनमा आउट भए ।

आयरल्यान्डका बेन ह्वाइटले १० ओभरमा १ मेडनसहित ६२ रन खर्चेर ५ विकेट लिए । गेभिन होइले ४ र म्याथ्यु फस्टरले १ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो । आयरल्यान्डको जितमा स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेलेका थिए ।

पिटर मुर २५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनको आक्रामक इनिङ खेल्दै आउट भएका थिए । पिटर मुर आउट हुँदा आयरल्यान्ड १३.३ ओभरमा ९०–२ को अवस्थामा थियो ।

केड कार्माइकल २१, निल रक १, गेभिन होइ १४, फिओन ह्यान्ड २० रनमा आउट भए । तल्लोक्रममा बेन ह्वाइटले १९ र म्याथ्यु हम्फ्रेजले २३ रनको योगदान दिए ।

डेब्यू खेल खेलेका बायाँ हाते स्पिनर स्पिनर रञ्जित कुमारले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर रिजन ढकालले १० ओभरमा ७५ रन खर्चेर ३ विकेट लिए । विकास आग्री र साहब आलमले १९१ विकेट लिए । नेपाल पहिलो खेलमा २७ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार १६:२९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।