काठमाडौं । गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले एसएमएस फ्रेन्डसिप कपको उपाधि जितेको छ । नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजराजले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो ।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।
नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रन बनाए । ओपनर आसिफ शेख ३४ बलमा २ चौका र १ छक्कासहित ३४ तथा कुशल भुर्तेल २१ बलमा १९ रनमा क्याच आउट भए ।
कुशल मल्ल १३ बलमा २ चौका र २ छक्कासहित ३१ तथा सन्दीप जोरा ७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । गुजरातका स्नेह पटेल, तेजास पटेल, जयमीत पटेलले र जाला युवराजसिंहले १–१ विकेट लिए ।
नेपालले लिग चरणमा ४ मध्य ३ खेल जित्दै फाइनल प्रवेश गरेको हो । अन्तिम खेलमा बरोडाविरुद्ध हार बेहोर्नु अघि नै नेपालले फाइनलमा आफ्नो स्थान बनाइसकेको थियो । गुजरात भने ४ खेलमा २ जितसहित फाइनल प्रवेश गरेको हो । आजको खेल ओमानमा हुने प्रिमियर कप अघि नेपालका लागि अन्तिम खेल रहेको थियो ।
नेपाली टोली भारतबाट सिधै ओमान तर्फ प्रस्थान गर्नेछ । प्रिमियर कपमा नेपाल रहेको समूहमा मलेसिया, हंगकंग, साउदी अरेबिया र कतार रहेका छन् । नेपालले अप्रिल १२ मा मलेसिया, अप्रिल १३मा कतार, अप्रिल १५ मा हंगकंग र अप्रिल १७ मा साउदी अरेबियाको सामना गर्नेछ । समूहको शीर्ष दुई टोलीले सेमीफाइनल खेल्नेछन् ।




















प्रतिक्रिया