Logo

राजनीति

 प्रचण्डले प्रधानमन्त्रीलाई भने – कसले माग्यो तपाईंको राजीनामा ?



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न प्रचण्ड बिहीबार बालुवाटार पुगेका थिए । तर कुनै ठोस सहमति हुन सकेन ।

स्रोतका अनुसार भेटमा प्रचण्डले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिबारे चासो राखेका थिए । प्रधानमन्त्री ओलीले बुधबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका थिए । प्रचण्डले कसले राजीनामा मागेको हो भनेका सोधेका थिए ।

प्रदेश १ को भर्चुअल बैठकतर्फ संकेत गर्दै यस्ता छलफलभन्दा पार्टीको बैठक बोलाउनुपर्ने बताएका छन् । सचिवालय बैठक बसेर छलफल गर्नुपर्ने उनको जोड थियो । जवाफमा प्रधानमन्त्री ओलीले तपाईंहरुले पनि यस्ता छलफल गर्नु भएकै छ भनेका थिए । पार्टीको बैठक बोलाउन विषयमा दुई अध्यक्षबीच सहमति हुन नसकेको स्रोतको दाबी छ ।

न्याय परिषद् सदस्य नियुक्तिमा पनि ओली र प्रचण्ड–नेपाल समूहको विवाद

 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहबीच न्याय परिषद् सदस्य नियुक्तिमा पनि विवाद भएको छ । नेपाल बार एशोसिएसनको सिफारिसमा नियुक्त हुने न्याय परिषद्को सदस्यका लागि दुबै समूहले अलग अलग नाम प्रस्ताव गरेका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले महेश नेपालको नाम अघि सारेका छन् । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रामप्रसाद श्रेष्ठको नाम अघि सारेका छन् ।

यसबारे प्रचण्ड–नेपाल समूहले बिहीबार कानून व्यवसायीहरुसँग समेत परामर्श गरेका छन् । ‘हामीले पहिला सिफारिस भएर पनि काम गर्न नपाएको, वरिष्ठ पनि भएकाले उहाँ (श्रेष्ठ) लाई सिफारिस गरौं भनेका छौं’ पेरिसडाँडामा भएको छलफलमा सहभागी एक नेताले भने, ‘उहाँहरुले महेश नेपाललाई सिफारिस गर्न चाहेको बुझेका छौं ।’

न्यायपरिषदले अदालतहरुमा न्यायाधीश सिफारिस गर्ने, न्यायप्रशासनसम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने, न्यायधीशको आचारसंहिता बनाउने, न्यायाधीशको तालिम, प्रशिक्षणका पाठ्यक्रम बनाउने काम गर्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार १५:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।