काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षकलाई छलफलमा बोलाएको छ ।
देशभर प्रहरी कार्यालयहरुले अनुसन्धान गरिरहेको सहकारीको रकम अपचलनसम्बन्धी मुद्दाबारे जानकारी लिन शुक्रबार गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाएको समितिका संयोजक सांसद सूर्य थापाले जानकारी दिए ।
‘सीआईबीले हेरिरहेको सहकारीसँग सम्बन्धित मुद्दाहरुको बारेमा र देशभरि प्रहरीले ह्याण्डिल गरिरहेको मुद्दाहरुका बारेमा समग्रतामा गृहसचिव र प्रहरी महानिरीक्षकसहित छलफल गर्ने गरी भोलिका लागि बैठक राखेका छौं’, उनले भने ।
समितिले बिहीबार महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेसँग छलफल गरेको थियो । आजको बैठकमा नियमनको स्थिति र प्रभावकारी निकायको आवश्यकता लगायतका विषयमा गम्भीर छलफल भएको संयोजक थापाले बताए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएको भन्दै नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि सहकारीको बचत रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो ।




















प्रतिक्रिया