Logo

अर्थ

रविलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितको नाराबाजी



काठमाडौं । सूर्यदर्शन सहकारी पीडित बचतकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजी सहित प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयकाे गेटनेर सहकारी पीडित र त्यसकै ठिकअगाडि शहीद चाेककाे चाैतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता-कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।

सूर्यदर्शन सहकारी पीडित र रविसमर्थक नेता–कार्यकर्ता आमने-सामने हुँदा सुरक्षा व्यवस्था कडा पारिएकाे प्रहरीले जनाएकाे छ ।

विभिन्न सहकारीमा भएकाे अपचलनबारे छानबिन गर्न बनेकाे विशेष संसदीय समितिकाे सिफारिस र गृहमन्त्री रमेश लेखककाे निर्देशनपछि आइतबार गाेर्खा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डीआईजी छविलाल जाेशीलाई पक्राउ परेर पाेखरा ल्याइएकाे छ । जाेशीलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएकाे छ ।

अहिले सहकारी पीडितले बचतकर्तालाई मारेर सहकारीकाे पैसा गोर्खा मिडियामा गएकाे र त्यसलाई अपचलन गर्ने काम रविले गरेकाे बताएका छन् । रविकै संलग्नतामा रकम अपचलन भएकाे भन्दै सूर्यदर्शनका सहकारी पीडितले २२ माघ २०८० मा रवि, गाेर्खा मिडिया सहित विभिन्न १८ व्यक्ति र संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए ।

झन्डै डेढ अर्ब अपचलन भएकाे सूर्यदर्शन सहकारीबाट गाेर्खा मिडियामा ५ कराेड रुपैयाँ देखिएकाे छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार १३:१३   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।