काठमाडाैं । बाँके जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरी र उनकी पत्नी आरती रावल बीचको सम्बन्ध विच्छेदको मुद्दामा फैसला सुनाएको छ। दुवै पक्षले एकअर्कासँग सम्बन्ध विच्छेदको माग गर्दै निवेदन दिएका थिए । अदालतले उनीहरूको माग स्वीकार गर्दै सम्बन्ध विच्छेदको निर्णय गरेको हो ।
जिल्ला न्यायाधीश भीष्मराज प्रसाईंको इजलासले दुवै पक्षका मागलाई ध्यानमा राख्दै सम्बन्ध विच्छेदको फैसला सुनाएको छ । विगत ६ वर्षदेखि पत्नी आरती रावलबाट तनाब झेली रहेका भुवन गिरीले अन्तत आरतीबाट छुटकारा पाएका छन् । गिरीले आरतीबाट छुटकारा पाउँन सम्बन्धविच्छेद गरी पाउँ भनि मिति २०७९/०८/११ मा बाँके जिल्ला अदालतमा सम्बन्ध बिच्छेद मुद्दा (मु.नं. ०७९-CP-०७३३) दर्ता गरेका थिए ।
यससँगै भुवन गिरीले आरतीविरुद्ध दायर गरेका ७ वटा बेइज्जतीका निवेदनमा कुनै दाबी नपुग्ने फैसला पनि सुनाइएको छ ।
आरतीले खाना खर्चको माग गर्दै दायर गरेको निवेदनमा भने भुवन गिरीले मासिक १२ हजार रुपैयाँ खाना खर्च दिनुपर्ने फैसला भएको छ । यो रकम आरतीले निवेदन दिएको मितिदेखि कार्यान्वयन हुँदासम्म दिनुपर्ने छ ।
हाल भुवन गिरी कारागारमा रहेका छन् । उनलाई काठमाडौँ जिल्ला अदालतले जबरजस्ती शारीरिक सम्बन्ध राखेको आरोपमा दोषी ठहर गरिसकेको छ । यस मुद्दामा उनलाई ७ वर्ष कैदको सजाय सुनाइएको छ । बलात्कारको मुद्दामा दोषी ठहर भएपछि भुवन गिरीलाई न्यायाधीश पदबाट निलम्बन गरिएको थियो ।




















प्रतिक्रिया