Logo

अर्थ

राष्ट्र बैंकद्वारा रु.१ र २ का सिक्का सटही गर्न सकिने व्यवस्था, केरमेट भएका नसटिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले हाल चलनचल्तीमा रहेका रु. १ र २ का सिक्का सटही गर्न व्यवस्था गरेको छ । राष्ट्र टक्सार महाशाखाबाट रु.१ र २ का सिक्का सटही गर्न सकिने व्यवस्था गरिएको हो ।

चलनचल्तीमा रहेका रु. १ र २ का कम्तीमा १०० रुपैयाँ बराबरका सिक्का सटही गरेर सोबापत रकम प्राप्त गर्न सकिन्छ । सटहीबापतको रकम नगद, आईपीएस वा चेकमार्फत भुक्तानी दिइने महाशाखाले जनाएको छ ।

यदि कुल रकम २० हजार रुपैयाँभन्दा माथिका सिक्का सटही गर्नुपर्ने भएमा महाशाखाको फोन नं. ०१–४१०२१८४ मा सम्पर्क गरी पूर्वजानकारी दिनुपर्नेछ । त्यसपछि महाशाखाले तोकिएको मिति तथा समयमा सिक्का सटहीका लागि बोलाउनेछ ।

सटहीका लागि महाशाखामा ल्याइने सिक्का सफा र डिजाइन प्रस्ट देखिने हुनुपर्दछ । डिजाइन मेटिएको, कोरिएको र विकृत सिक्का सटही गर्न इन्कार गर्न सकिने पनि महाशाखाले प्रस्ट पारेको छ ।

महाशाखाबाट चलनचल्तीमा रहेका रु. १ र २ का सिक्काबाहेक अन्य सिक्का, स्मारिका सिक्का, असर्फी, मेडालियन आदि सटही नहुने सूचनामा उल्लेख छ । सिक्का सटहीसम्बन्धी थप जानकारी महाशाखामा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार १५:२१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।