Logo

प्रमुख समाचार

भ्रष्टाचार झन् बढेको बढ्यै



काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री भयो कि मुलुक सबैभन्दा भ्रष्ट भइहाल्छ । उनको यसअघिको कार्यकालमा सरकार अहिलेसम्मकै भ्रष्ट भनी लेखिएको थियो ।

अहिले पनि फेरि भ्रष्ट गनिएको छ । सन् २०२४ को आधा समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आधा समय ओलीले सम्हाले । दुवै मिलेर भ्रष्टाचारलाई थप बढावा दिएको स्पष्ट भएको हो ।

भ्रष्टाचार रोक्ने भनेको सुशासन कायम गर्न सके सम्भव हुने कुरा हो । मानिसले आफ्नो आचरणमा सुधार गर्ने हो भने सुशासनमा रहन सक्छ । पायो कि खायो भन्ने मानसिकता हावी भएपछि भ्रष्टाचार झन् बढ्दै जाने हो । राजनीतिक, प्रशासनिक र न्यायिक नेतृत्वको भूमिका बढी अपेक्षित हुने भए पनि तिनै क्षेत्र झन् भ्रष्ट छन् ।

नेपालमा अनियमितता र भ्रष्टाचार बढ्नु र संलग्नलाई कारबाही नहुनुको मुख्य कारण राजनीतिक पार्टी वा नेताले संरक्षण गर्नु नै भएको स्पष्ट छ । किनकि नेता नै भ्रष्ट छन् । कारबाही गर्ने निकाय आफैँ भ्रष्ट छ । एकातिर सुशासनको भाषण र अर्कोतिर नागरिक कुशासनसँग प्रत्येक पाइलामा ठोक्किनु परेको अवस्था छ ।

त्यसैले त मुलुक भ्रष्टाचारलाई अझ बढी बढावा दिने मुलुक बनेको छ । गत वर्ष ३५ अंक बटुलेको नेपालले यसपालि ३४ अंक जोड्यो । अर्थात् भ्रष्टाचार झन् बढ्यो । ट्रान्सपरेन्सी इन्टरनेशनलको हरेक वर्षको सर्वेक्षणले यही निराशाजनक सूचकांक प्रस्तुत गरिरहेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले गत मंगलबार सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा नेपालको अवस्था अघिल्लो वर्षको भन्दा खस्किएको हो । सर्वेक्षणमा समेटिएका १८० देशको औसत अंक ४३ छ । नेपाल त त्यसको छेउँछाउँ पनि पुग्न सकेन । नेपालमात्र होइन छिमेकी देशहरू भुटान बाहेक सबैको स्थिति खराब छ । बाँकी सबै भ्रष्ट छन् ।

भुटान अरूभन्दा फरक छ । भुटानको ७२ अंक छ । नेपालले खराब कुरालाई अनुशरण गर्दा भुटानको राम्रो पक्ष अनुशरण गर्न सकेन । वरपरका अन्य देश पनि भ्रष्ट भएकाले चित्त बुझाउन खोजे पनि भ्रष्टाचार र कुशासनको क्षेत्रीय गठबन्धन हुँदैन ।

नेपालमा त कुनै पनि संयन्त्र सुशासनमा चलेको छैन । कानूनको कार्यान्वयन प्रभावकारी भइरहेको छैन । दोषी पनि दण्डित नहुने मुलुक हो यो। राज्य सञ्चालकहरु पारदर्शी र जवाफदेही छैनन् । राज्यका नीति परिवर्तन, विकास निर्माणका काम, राज्य संलग्न खरिद बिक्रीमा अनियमितता हुने गरेको छ । सबैभन्दा बढी कानूनको पालना गर्ने राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री हुन् ।

तर, यिनीहरूमाथि नै मिल्ने भए पहिले नै अनुसन्धान गर्नुपर्ने अवस्था छ । नागरिकले घुस नदिएसम्म सहजै सरकारी सेवा पाउन कठिन छ। जायज कामका लागि पनि घुस दिनु परेको घटना कहीं न कहीं सबैका छन् ।

साथै सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई नकारात्मक सूची (ग्रे-लिस्ट) मा राख्ने तयारी गरेको छ ।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानून कार्यान्वयन, वित्तीय अपराधको अनुसन्धान, कारबाहीलगायत पक्षमा अपेक्षित सुधार हुन नसक्दा नेपालले ‘ग्रे-लिस्ट’ मा बस्नुपर्ने लगभग निश्चित भएको सरकारी अधिकारीहरुको भनाइ छ ।

आखिर कानून बन्छ तर त्यसको मर्मअनुसार कार्यान्वयन हुँदैन भने त्यसको औचित्व के होला ? केपी ओलीको भ्रष्ट श्रृंखलाको चरण बढ्दो छ । त्यसैले होला प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नेजस्तो सामान्य सकारात्मक प्रचलन पनि ओलीले अवरूद्ध गरेका खबर जन भावनामा उल्लेख छ ।

गत असार अन्तिममा गठन भएको सरकारले ७ महिना नाघ्दासमेत सम्पत्ति विवरण सार्वजनिक गरेको छैन । प्रधानमन्त्री र मन्त्रीहरुले आफनो सम्पत्ति विवरण लुकाउँदा झन् आशंका बढ्छ, आलोचना हुन्छ । यस्तै प्रवृत्ति कायमै रहने हो भने अनेकौं नकारात्मक सूचीमा नेपाल पर्दै जाने निश्चित छर । आखिर भ्रष्ट सरकारलाई कारबाही कहिले हुन्छ ?

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार ०७:००   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।