काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र साहलाई श्री ५ को सम्बोधन गर्दै उनको शुभकामना सन्देशलाई स्वागत तथा एक्यबद्धता जनाएको भन्दै सरकारले पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
पर्यटन प्रवर्द्धकका रूपमा पोर्चुगलको लिजबनमा कार्यरत बास्तोलाले कार्यालयको लेटर हेडमै पूर्वराजा ज्ञानेन्द्रलाई श्री ५ सम्बोधन गरी उनको अभिव्यक्तिलाई समर्थन गरेका थिए। साथै उनले उक्त पत्र आफ्नो फेसबुकमा आइतबार राखेका थिए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको यस कार्यालयका प्रवर्द्धकको उक्त कार्य पदीय जिम्मेवारीविपरीत भएको मन्त्रालयको ठहर छ । साथै सरकारी लोगो तथा लेटरप्याडको समेत दुरुपयोग गरेकाले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
उक्त सम्बन्धमा गैरजिम्मेवारपूर्ण कार्य गरेबापत पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम निजलाई पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट तत्काल नहटाउनुपर्ने कुनै कारण भए २४ (चौविस) घण्टाभित्र यस मन्त्रालयमा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। मन्त्रालयले सोधेको स्पष्टीकरणमा जनाइएको छ ।




















प्रतिक्रिया