Logo

प्रमुख समाचार

प्रहरीका गुनासा कसले सुन्ने ? प्राविधिकतर्फका प्रहरी कर्मचारीलाई पक्षपातपूर्ण व्यवहार !



काठमाडौं । प्रहरी नियमावली परिवर्तनका लागि लामो समयदेखि छलफलका र विर्मश हुँदै आएको छ ।

यस अगाडिका प्रहरी प्रमुखहरूले ३० वर्षे अवधि हटाएर ३२ वर्षे अवधि बनाउन लामो समयदेखि संघर्ष गर्दै आएका थिए । तर, तत्कालीन अवस्थाका गृहमन्त्री र गृहप्रशासन अनुकुल नभएका कारण उनीहरूको प्रयास असफल बन्दै आएको थियो ।

वर्तमान आईजीपी वसन्तबहादुर कुँवर पदमा पुगेपछि नियमावली परिवर्तनका लागि सुरुदेखि नै सक्रिय रहँदै आएर अहिले संसद्मा छलफल भइरहेको प्रहरी ऐनमा आफ्ना विषयहरू नसमेटिएको भन्दै प्रहरी अस्पतालमा कार्यरत चिकित्सकहरूले आपत्ति जनाएका छन् ।

सरकारले नयाँ प्रहरी ऐन बनाउन प्रस्ताव गरेको मस्यौदामा प्राविधिकतर्फका प्रहरी कर्मचारीलाई पक्षपातपूर्ण व्यवहार गरेको भन्दै चिकित्सकहरूले आपत्ति जनाएका हुन् । सर्वोच्च अदालतले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको अवकाशसम्बन्धी व्यवस्था ऐनमै तोक्न निर्देशनात्मक आदेश दिएपछि सरकारले प्रहरी ऐन छलफलका लागि संसदमा पेश गरिसकेको छ ।

प्रस्तावित मस्यौदामा प्राविधिकतर्फका प्रहरी कर्मचारीको अवकाशसम्बन्धी व्यवस्थाले तल्लो दर्जाका प्राविधिक प्रहरीको बढुवा र वृत्ति विकासलाई रोक्ने प्राविधिक प्रहरीहरूले गुनासो गर्न थालेका छन् । प्राविधिक प्रहरी र विशेषगरी डाक्टरहरूको अवकाशको हकमा पदावधि लागू नहुने व्यवस्था गरिँदा माथिल्लो दर्जाका प्राविधिक र डाक्टरहरूको अवकाश नहुने र तल्लो दर्जाका प्रहरीको बढुवा अवरुद्ध हुने उनीहरूको गुनासो छ ।

प्रस्तावित ऐनको मस्यौदामा प्राविधिकतर्फका प्रहरी कर्मचारीहरू उमेर हदका कारण मात्र अवकाशमा जाने व्यवस्था छ । तर, प्राविधिकबाहेक अन्य सबै समूहका प्रहरी कर्मचारीहरू कुनै एक पदमा बहाल रहेको निश्चित अवधि पूरा भएपछि अनिवार्य अवकाशमा जाने व्यवस्था छ ।

मस्यौदाको व्यवस्थाअनुसार आइजीपी तीन वर्ष, एआइजी तीन वर्ष, डिआइजी पाँच वर्ष, एसएसपी आठ वर्ष र डिएसपी १० वर्षमा अवकाशमा जान्छन् । प्राविधिक कर्मचारीहरू भने प्रहरी निरीक्षक र त्योभन्दा तल्लो पदमा बहाल रहेका भए ५८ वर्ष उमेर पुगेपछि र डिएसपीदेखि माथिको पदमा रहेकाहरू ६० वर्ष उमेर भएपछि मात्रै अवकाशमा जानेछन् ।

उनीहरूका लागि कुनै पदमा बहाल रहेको निश्चित अवधि पूरा भएपछि अवकाशमा जाने प्रावधान छैन । मस्यौदाअनुसार प्रहरी अस्पतालमा कार्यरत बिशेषज्ञता हासिल गरेका प्राविधिक डिआइजी, एसएसपी र एसपीको हकमा पदावधि लागू हुँदैन ।

उनीहरू ६० वर्ष पुगेपछि मात्रै अवकाशमा जान्छन् । प्रहरी अस्पतालमा निरीक्षकदेखि एआइजीसम्म कूल २१३ जना प्राविधिकहरू छन् । यसमा एक जना एआइजी, पाँच डिआइजी, १४ एसएसपी, १८ एसपी, ६० डिएसपी र ११२ प्रहरी निरीक्षक छन् ।

यिनीहरूमध्ये विशेषज्ञ डाक्टर मात्रै १५८ जना छन् । डाक्टरहरूमा १ एआइजी, ५ डिआइजी, ११ एसएसपी, ४९ डिएसपी र ७७ प्रहरी निर्देशक छन् । यी मध्ये एआइजी प्रहरी अस्पतालका निर्देशक हुन्छन् ।

ऐनको प्रस्तावित मस्यौदाअनुसार एआइजी मात्र पदमा बहाल रहेको २ वर्षमा अवकाशमा जान्छन् । डिआइजी, एसएसपी र एसपी उमेर हदका कारण ६० वर्ष उमेर पूरा भएपछि मात्रै अवकाशमा जान्छन् ।

यो व्यवस्थाले डिआइजी भएकाहरू सबैको एआइजी हुने पालो आउने, एसपीभन्दा माथिकाहरू सबैले सुविधा र अवसर पाउने तर निरीक्षक दर्जाका प्रहरीहरूको बढुवा नै अवरुद्ध हुने गुनासो बढ्नु स्वाभाविक हो । तल्लो दर्जाका प्राविधिक प्रहरीहरूले यस्तो मस्यौदा तयार गर्नमा माथिल्लो दर्जाका प्राविधिक प्रहरी अधिकारीहरूले नै चलखेल गरेको आरोप लगाएका छन् ।

उनीहरूका अनुसार माथिल्लो पदमा पुगिसकेपछि आफ्नो उमेर हद बाँकी रहँदासम्म सबै सेवा सुविधा उपभोग गर्ने नियतले तल्लो दर्जाका कर्मचारीको वृत्ति विकासलाई अवरुद्ध पार्ने प्रयास गरिएको छ ।

अहिले प्रस्तावित ऐनमा एआइजी पदमा पुगेको दुई वर्षमा अवकाशमा जान्छन् । यसबाहेक एआइजी ६० वर्ष पुगेपछि पनि अवकाशमा जान्छन् । उमेर नपुगी अवकाश नहुने हुँदा एआइजीले पूरै दुई वर्ष पदमा रहने सम्भावना न्यून हुने हुँदा उनीभन्दा तलका पाँच डिआइजी सबैले एआइजी बन्ने पालो पाउने सम्भावना रहन्छ ।

तर, पाँच डिआइजी पदमा जानको लागि १४ एसएसपीले पालो पर्खिरहेका हुन्छन् । एसएसपीको संख्या डिआइजीको संख्याको झण्डै तीन गुणा बढी हुँदा र डिआइजीले ६० वर्ष उमेर नपुगी पद नछाड्ने हुँदा सबै एसएसपीले डिआइजी बन्ने पालो नपाउन पनि सक्छन् ।

सबै एसएसपी बढ़वा भएर डिआइजी बन्न नपाएपछि यसको असर एसपीहरूमा पर्छ । एसपीहरू पनि ६० वर्ष नपुगी अवकाशमा जाँदैनन् । यसले डिएसपीको र एसपीले बढुवा नहुँदा प्रहरी निरीक्षकहरूको बढुवा रोकिन्छ ।

सरकारले ल्याउन लागेको ऐनमा ३० वर्षे प्रावधान हटाएर ३२ वर्षे बनाउँदा प्रशासन तर्फका तल्लो तहका कर्मचारीहरूलाई पनि असर पर्ने र प्राविधिक तर्फका तल्लोतह पीडित बन्ने गुनासो प्रहरी वृत्तमा बढ्दै गएको गोलमेचमा खबर छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलवार ०८:०६   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।