काठमाडौं । कर्तव्य ज्यानमुद्दामा ३७ वर्षदेखि फरार भएका दुई जना अभियुक्तलाई पर्वत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वत महासिला गाउँपालिका-५ घर भएका ५७ वर्षीय गम्भीर गुरुङ र सोही ठाउँका ५५ वर्षीय तेजबहादुर गुरुङ रहेका छन् । फागुन २५ गते गम्भीरलाई रुपन्देही मायादेवी गाउँपालिका-८ बसडिलवा र तेजबहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरिएको पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए ।
गम्भीर लामो समयदेखि रुपन्देही मायादेवी गाउँपालिकामा बसिरहेका थिए। तेजबहादुर पर्वत महासिला गाउँपालिका-५ र ललितपुर महालक्ष्मी नगरपालिका लुभुमा दुबै ठाउँमा बस्दै आएका थिए ।
गम्भीर र तेजबहादुर दुबै पर्वत साबिक कुर्घा गाविस-९ का हुन् । पर्वत साबिक कुर्घा गाउँ पञ्चायत वडा नम्बर २ का रामबहादुर गुरुङलाई चक्कु तथा लाठी प्रहार गरी हत्या गरेर खोल्सामा फालेपछि उनीहरू फरार भएका थिए ।
फरार रहेका उनीहरूलाई लामो समयपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो। दुबैले २०४४ साल फागुन ७ गते राति साढे १० बजे रामबहादुरलाई योजनावद्ध तरिकाले हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
‘उनीहरू घटना घटेको ३७ वर्षदेखि फरार थिए, फरार अभियुक्तको खोजी तथा पक्राउ अभियान अन्तर्गत प्रहरी टोलीले उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो,’ प्रहरी नायब उपरीक्षक विष्टले भने ।
रामबहादुरको हत्या आरोपमा दुबै जनालाई पर्वत जिल्ला अदालतले जनहीँ १०-१० वर्षको कैद सजाय सुनाएको थियो । उनीहरूलाई पर्वत जिल्ला अदालतले २०५८ साल असार १३ गते कैद सजाय तोकेको थियो ।
पक्राउ परेका दुबैलाई जिल्ला अदालत पर्वतमा पेश गरिएकोमा अदालतले कारागार चलान गरिदिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
रामबहादुरको हत्यामा अन्य दुई जना फरार छन् । उनीहरूको खोजी भइरहेको विष्टले बताए । ‘लामो समयदेखि उनीहरू फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय पर्वतले विशेष तरिकाले खोजी गरेको थियो,’विष्टले भने,’फरार भएका दुई व्यक्ति चाँडै पक्राउ पर्ने अपेक्षा राखेका छौं ।




















प्रतिक्रिया