काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्दा तोकिएको शुल्क भन्दा बढी लिन नपाउने निर्णय गरिएको छ । सदस्यता व्यवस्थापन समितिको बैठकले २ सय रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको हो । यस निर्णयले विगतमा कतिपय स्थानमा बढी शुल्क लिनु पर्ने समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
विगतमा नवीकरणको क्रममा कतिपय स्थानमा नियमावलीमा तोकिएको रकम भन्दा बढी लिने गरिएको थियो । पार्टीले तोकेको शुल्कअनुसार प्रत्येक वर्ष नवीकरण गर्दा बुझाउनुपर्ने रकम २ सय रुपैयाँ हो ।
समितिले पार्टीका पालिकामा जितेका जनप्रतिनिधिहरूको लेबी रकम पनि घटाउने निर्णय गरेको छ । पालिका अध्यक्ष/उपाध्यक्ष, नगर प्रमुख र उपप्रमुखको लेबी पारिश्रमिकमा २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ। वडाध्यक्षको लेबी १० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा तय गरिएको छ ।
प्रदेश समितिहरूलाई क्रियाशील सदस्यता नवीकरणको अनुगमनमा सक्रिय बनाउने निर्णयसमेत भएको छ । बैठकमा सहभागी समितिका सदस्य रसाइलीले भने “प्रदेश समितिको भूमिका बढाउन र नवीकरणमा अनुगमनमा खटाउने निर्णय गरेका हौं।”
त्यसैगरी, क्रियाशील सदस्यता स्थानान्तरणको प्रक्रिया सुधार गरिएको छ । बसाइँसराइ र मतदाता परिचयपत्र पेस गर्ने व्यक्तिलाई मान्यता दिने निर्णय गरिएको छ । स्थानान्तरणका लागि दुवैतिरका जिल्ला सभापतिहरूको स्वीकृति आवश्यक हुने व्यवस्था संशोधन गरिएको छ ।
सदस्यता नवीकरणमा ढिलाइ भएका व्यक्तिहरूको विषयमा महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवा र शीर्ष नेतासँग छलफल गरेर छिटो समाधान गर्न पहल गर्ने निर्णय गरिएको छ ।
साथै, क्रियाशील सदस्यता कार्डको अभाव भएका डोल्पा, मुस्ताङ, बारा र अर्घाखाँची जस्ता जिल्लामा थप कार्ड पठाउने निर्णय पनि भएको छ । यससँगै विदेशस्थित सबै ३६ वटा जनसम्पर्क समितिलाई पनि नवीकरण कार्ड वितरण गर्ने निर्णय गरिएको छ ।




















प्रतिक्रिया