Logo

अर्थ

कनेक्ट आइपीएसबाट अब ५ सयसम्मको रकम ट्रान्स्फरमा कारोबार शुल्क नलाग्ने



काठमाडौं । मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसबाट ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने भएको छ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले शुल्क परिमार्जन गर्दै यस किसिमको व्यवस्था लागु गरेको बुधबार सूचना प्रकाशन गर्दै जानकारी दिएको छ ।

रिटेल पेमेन्ट स्विच (आरपीएस) प्रणालीमा लाग्ने शुल्क परिमार्जन गर्दै कारोबार रकम सीमाका आधारमा लागु हुन्छ । यसअनुसार मोबाइल बैंकिङ, कनेक्ट आईपीएसको मोबाइल एप तथा वेबसाइट र वालेटमा रकम राख्दा वा झिक्दा ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा कुनै पनि शुल्क लाग्ने छैन ।

यी माध्यमबाट ५ सयदेखि ५ हजार रुपैयाँसम्म ट्रान्सफर गर्दा ४ रुपैयाँ र ५ हजारमाथिका हकमा ८ रुपैयाँ शुल्क लाग्ने छ । त्यस्तै क्रेडिटर तथा मर्चेन्ट भुक्तानीमा समेत शुल्क लाग्ने व्यवस्था गरिएको छ । यस अनुसार मर्चेन्ट भुक्तानीका हकमा ५ सय रुपैयाँसम्म २ रुपैयाँ, ५ सय देखि ५ हजारसम्मको भुक्तानीमा ४ रुपैयाँ र ५ हजारभन्दा माथिको भुक्तानीमा ८ रुपैयाँ शुल्क तोकिएको छ ।

सेवा प्रदायक तथा मर्चेन्टले शुल्क बेहोरेको कारोबारमा रकम पठाउन ग्राहकलाई कुनै शुल्क नलाग्ने एनसीएचएलले जनाएको छ ।

हाल ५२ बैंक वित्तीय संस्थाहरूको मोबाइल बैंकिङ एपमा आरपीएस र कनेक्ट आइपीएसबाट फन्ड ट्रान्स्फर गर्न सकिने सेवा उपलब्ध छ भने १३ भन्दा बढी वालेटमा बैंक खाताबाट क्यास इन र क्यास आउट सेवा उपलब्ध छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार १४:२४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।