काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएनको नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ । बारको अध्यक्षका लागि पाँचजना कानुन व्यवसायी प्रतिस्पर्धामा छन् ।
बारको अध्यक्षका लागि दुईवटा मुख्य प्यानल प्रतिस्पर्धामा छन् । सत्तारुढ दल एमाले र कांग्रेस निकटका कानुन व्यवायीको संयुक्त प्यानल र प्रतिपक्षमा रहेका दल निकट कानुन व्यवसायीको छुट्टै प्यानल बनेको छ ।
सत्तारुढ दल निकट कानुन व्यवसायीहरूको प्यानलको नेतृत्व कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसनबाट प्राध्यापक वरिष्ठ अधिवक्ता विजय मिश्रले गरेका छन् ।
जसलाई एमाले निकट कानुन व्यवसायीहरूको संगठन प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठन (एनडीएलए) पनि समर्थन गरेको छ ।
प्रमुख प्रतिपक्षी माओवादी निकटका कानुन व्यवसायीहरूको संगठन गणतान्त्रिक कानुन व्यवसायी संगठन (आरपीपीएलए) र रास्वपा समर्थित स्वतन्त्र कानुन व्यवसायी संगठनबीच गठबन्धन भएको छ । ‘व्यवसायिक कानुन व्यवसायी समूह’ बनाएर बारको चुनावमा होमिएको यो समूहको नेतृत्व वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले गरिरहेका छन् ।
मिश्र र श्रेष्ठका अलवा बारको अध्यक्षमा अधिवक्ता राजु कैती, अधिवक्ता उज्ज्वल घिमिरे र आशिष पौडेलले प्रतिस्पर्धा गरिरहेका छन् ।
बारको अध्यक्षका लागि मुख्य प्रतिस्पर्धा मिश्र र श्रेष्ठबीच हुने भएको छ । उनीहरूबीच ‘प्रेसिडेन्सियल डिबेट’ समेत भएको छ । मतदाता कानुन व्यवसायीबीच आफ्ना एजेन्डा राख्न देश दौडाहामा गएका उनीहरूबीच काठमाडौंमा ‘योङ लयर्स एसोसियसन’ले चैत १७ मा डिबेट गराएको थियो ।
बहसमा नेपालले आयोजना गरेको प्रेसिडेन्सियल डिबेट कार्यक्रममा मुख्य प्रतिस्पर्धी मिश्र र श्रेष्ठले आ-आफ्ना एजेन्डा प्रस्तुत गर्नुका साथै विपक्षीमाथि आरोप प्रत्यारोप लगाएका थिए ।




















प्रतिक्रिया