काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई बाइडबडी जहाजको लागि लिएको ऋणको किस्ता भुक्तानी गरेको छ ।
निगमका प्रवक्ता सुवास डाँगीद्वारा जारी विज्ञप्ति अनुसार उक्त रकम २०८१ सालको चैत्र महिनाको किस्ताबापतकाे ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको हो । यस अन्तर्गत दुई न्यारोबडी जहाजको सम्पूर्ण किस्ता र दुई वाइडबडी जहाजको आंशिक किस्ता तिरिएको छ ।
नेपाल एयरलाइन्सले सो ऋण कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको हो । हालको व्यवस्थापनले जिम्मेवारी सम्हालेयता २०८१ चैत्र महिनासम्म जम्मा ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको निगमले जनाएको छ ।
साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा परेको असर अवधिको व्याज, व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको छ । यस सम्बन्धमा छलफल समेत भइरहेको निगमको भनाइ छ ।




















प्रतिक्रिया