काठमाडौं । चालु आर्थिक वर्षको साउन देखि चैतसमान्तसम्म ५८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साउनदेखि चैत मसान्तसम्म कुल ५७ अर्ब ९७ करोड ५४ लाख रुपैयाँको एफडीआई प्रतिबद्धता प्राप्त भएको हो ।
गत वर्षको सोही अवधिमा ३० अर्ब ११ करोड रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता मात्र आएको थियो। यसअर्थमा चालु वर्षमा २७ अर्ब ८५ करोड रुपैयाँले लगानी प्रतिबद्धता वृद्धि भएको देखिन्छ ।
विभागले गत वैशाखमा तेस्रो लगानी सम्मेलनपछि स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृति दिने प्रणाली (Automatic Route) सुरु गरेको थियो । नयाँ प्रणालीले प्रक्रिया सरल बनाएको भन्दै लगानीकर्ताको चासो बढेको विभागको भनाई छ । अटोमेटिक रुटबाट २२४ उद्योगमा २ अर्ब ८९ करोड ७९ लाख र अप्रुभल रुटबाट २५६ उद्योगमा ५५ अर्ब ७ करोड ७४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
तथ्यांकअनुसार चैत महिनामा मात्रै १३ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको चैत महिनामा मात्रै ५३ उद्योगका लागि १३ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । जसमध्ये प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट २३ उद्योगका लागि १३ अर्ब १७ करोड ४० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
त्यस्तै, स्वचालित प्रणालीबाट ३० उद्योगका लागि १४ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।
चालु आवको ९ महिनाको अवधिमा शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि १ अर्ब ९४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै, ५१ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ ।
चालू आर्थिक वर्षमा सबैभन्दा बढी फागुनमा १७ अर्ब ७९ करोड ८६ लाख रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ । चैतमा मात्रै ५३ वटा साना उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ ।
९ महिनाको अवधिमा ४६८ वटा साना उद्योग, ८ वटा मध्यम र ४ वटा ठुला उद्योगका लागि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । ९ महिनामा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा थप १२ हजार ४३५ जनाले रोजगारी पाउनेछन् ।




















प्रतिक्रिया