Logo

अर्थ

प्रभु बैंकको नाफामा सामान्य वृद्धि, समग्र वित्तीय अवस्था कस्तो ?



काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा १ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ३.५१ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८१ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले प्रकाशन गरेको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार कर्जा विस्तारमा खासै सुधार गर्न नसक्दा तथा स्प्रेड दरमा गिरावट आउँदा खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीले घटेको छ । अघिल्लो आवको त्रैमासमा ८ अर्ब ४३ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस त्रैमासमा घटेर ७ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको हो । त्यसैगरी, स्प्रेड दर पनि ३.९६ प्रतिशतबाट घटेर ३.९० प्रतिशतमा झरेको छ । कर्जा वृद्धि न्यून भएर मात्रै २ अर्ब रुपैयाँले पुगेको छ । निक्षेप भने १५ अर्ब रुपैयाँभन्दा बढीले बढेको देखिन्छ । बैंकको निक्षेप ३ खर्ब ५ अर्बबाट बढेर ३ खर्ब २० अर्ब पुगेको छ ।

बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने नेट ट्रेडिङ आम्दानी पनि ४१ करोड ७४ लाख रुपैयाँमा बढेको छ । त्यसैगरी अन्य सञ्चालन आम्दानी पनि बढेको छ तर कुल सञ्चालन आम्दानी भने ९ अर्ब ६१ करोड रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा घटावट हो।

निष्क्रिय कर्जा बढेसँगै बैंकले चैत मसान्तसम्म सम्भावित कर्जा नोक्सानीको लागि १ अर्ब २३ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । गत आवको यस अवधिमा बैंकले सम्भावित कर्जा नोक्सानीको लागि १ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ छुट्याएको थियो । आम्दानी घटे पनि र कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम घट्दा बैंकको नाफामा वृद्धि भएको हो । चैत मसान्तमा बैंकको सञ्चालन नाफा ३ अर्ब ५७ करोड २८ लाखबाट घटेर ३ अर्ब ४३ करोड ५३ लाख रुपैयाँमा झरेको हो । गत वर्षको तेस्रो त्रैमासमा बैंकको २० करोड ४९ लाख रुपैयाँ गैर सञ्चालन खर्च रहेको बैंकको चालु आवमा त्स्तो खर्च नहुँदा सामान्य नाफा बढेको देखिन्छ ।

बैंकको सञ्चित नोक्सानी भने बढ्दै गएको छ । चालु आवको तेस्रो त्रैमाससम्म ३७ करोड ६६ लाख वितरणयोग्य नोक्सानीमा रहेको बैंक गत आर्थिक वर्षका ३ अर्ब २ करोड ५५ लाख सञ्चित नोक्सानीले बैंकको कुल सञ्चित नोक्सानी ३ अर्ब ४० करोड २३ लाख रुपैयाँ पुगेको छ ।

बैंककाे चुक्ता पूँजी २३ अर्ब ५४ करोड २५ लाख रुपैयाँ छ । बैंकको जगेडाकोषमा १४ अर्ब ५३ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

नाफा सामान्य बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ २६ पैसाबाट बढेर १० रुपैयाँ ६३ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात १९.५२ गुणा छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १०:५१   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।