Logo

अर्थ

क्रिकेटर सिद्धान्त लोहनीलाई क्यानले ५ लाख सहयोग गर्ने



काठमाडाैं । क्रिकेटर सिद्धान्त लोहनीको उपचारका लागि नेपाल क्रिकेट संघ (क्यान)ले पाँच लाख दिने निर्णय गरेको छ । क्यानका अनुसार घुँडाको उपचार गराइरहेका लोहनीलाई थप पाँच लाख रूपैयाँ उपलब्ध गराउने निर्णय भएको हो ।

यसअघि क्यानले उपचार गराउन एक लाख रूपैयाँ दिएको थियो ।

क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई उपचारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । उनी भारतको गुरुगाउँस्थित एक अस्पतालमा अहिले उपचारमा छन् ।

सन् २०२३ को जुन २ मा उनी महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिता दौरान घाइते भएका थिए । कोशी प्रदेशका कप्तान लोहनीको गण्डकीविरूद्ध फिल्डिङ गर्ने क्रममा घुँडामा चोट लागेको थियो ।

उनले २०१५ राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत जर्सीविरूद्धको डेब्यू खेलमा सिद्धान्तले १६ बलमा २ चौका र २ छक्काको मद्दतमा २७ रन प्रहार गरेका थिए ।

 

 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार १५:०२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।