Logo

खेलकुद

टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा थाइल्यान्डसँग नेपाल पराजित



काठमाडाैं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर-३ को अन्तिम खेलमा नेपाललाई घरेलु टोली थाइल्यान्डले नेपाललाई ७८ रनले पराजित गरेको छ ।

नेपाल र थाइल्यान्डले सुपर-३ को शीर्ष दुईमा रहदै विश्व छनोटमा स्थान पक्का गरिसकेका सकेका थिए । आजको जितसँगै थाइल्यान्ड एसिया छनोटको विजेता बनेको छ ।

टेडथाइई क्रिकेट मैदानमा १ सय ५९ रनको विशाल लक्ष्य पछाएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८० रनमा समेटियो।

नेपालले ३१ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । ओपनरद्वय सम्झना खड्का ९ रनमा र रुवी पोदार ४ रनमा आउट भइन्  । कप्तान इन्दु बर्मा ७ रनमा तथा उपकप्तान पूजा महतो रनको खाता नखोली आउट भइन्।

कविता कुँवरले ३३ बलमा सर्वाधिक २४ रन जोडिन्। राजमति ऐरीले २० रन र रुविना क्षेत्रीले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा ओनिचा कामछोम्पुले ४ ओभर बलिङ गर्दै १ मेडन सहित ११ रन खर्चेर ४ विकेट लिइन् । थिपाट्चा पुथाओङले पनि ४ ओभरमा १ मेडन सहित १४ रन मात्र दिएर ३ विकेट आफ्नो नाममा लेखाइन् ।

त्यसअघि नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएपनि थाइल्याण्डलाई रोक्न सकेन । ओपनर नाताया बुचाथाम र नानापात कोन्चरोएन्काइले अर्धशतक प्रहार गरेपछि थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५८ रन जोडेको हो । नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले १-१ विकेट लिए ।

नाताया र अफिसर सुवान्चोनराठीले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । अफिसरले ४३ बलमा २९ रन जोडिन् । त्यसपछि नानापात र नातायाले स्कोर अघि बढाए । नाताया ४२ बलमा ५ चौकासहित ५० रन जोड्दै मनिषाको बलमा क्याच आउट भइन् ।

नानापातले २८ बलमा ८ चौकासहित नटआउट ५० रन जोडिन् । नाथाकन चनतमले ९ बलमा २ चौकासहित १४ रनको योगदान दिइन् ।

तीन समूहका शीर्ष टोली सुपर थ्रीमा पुगेका थिए। नेपाल र थाइल्याण्ड दुवै युएईलाई हराएर ग्लोबल छनोटमा पुगेका हुन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार १३:०६   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।