काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले योग्य व्यक्ति तथा संस्थाबाट शिलबन्दी बोलपत्र आह्वान गर्दै मंसिर १० गतेदेखि आवेदन खुला गर्ने भएको हो।
कम्पनीका अनुसार शेयर खरिद गर्न इच्छुक योग्य व्यक्ति, फर्म, कम्पनी तथा संघसंस्थाले मंसिर १८ गते कार्यालय समयभित्र आवेदन पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२५ रुपैयाँ तोकिएको छ।
तर बोलपत्र पेस गर्दा शेयरको बजार मूल्यको ५० प्रतिशत र २२५ रुपैयाँमध्ये जुन कम हुन्छ, सोही मूल्य वा त्यसभन्दा बढी रकम कबोल गर्नुपर्नेछ। बजार मूल्य निर्धारण गर्दा कारोबार भएको दिनको भारित औसत मूल्यलाई आधार मानिने कम्पनीले जनाएको छ। उक्त दिन शेयर कारोबार नभए अघिल्लो कारोबार दिनको भारित औसत मूल्यका आधारमा मूल्य निर्धारण गरिनेछ।
शेयर खरिदका लागि न्यूनतम पाँच हजार कित्ताको आवेदन दिनुपर्नेछ। अधिकतममा बिक्रीमा राखिएको सम्पूर्ण ६२ हजार ५०० कित्ताका लागि आवेदन दिन सकिनेछ। आवेदन दिँदा १० ले भाग जाने कित्तामा मात्रै बोलकबोल गर्न पाइनेछ। खण्डित कित्ताका लागि आवेदन दिन नपाइने कम्पनीले स्पष्ट पारेको छ।
शिलबन्दी बोलपत्र आवेदन फाराम ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नक्सालस्थित कार्यालयबाट प्राप्त गर्न सकिनेछ। भरिएको आवेदन पनि मंसिर १८ गते कार्यालय समयभित्र सोही कार्यालयमा बुझाउनुपर्नेछ।
शेयर बिक्री तथा लिलामी प्रक्रियाको व्यवस्थापन ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।




















प्रतिक्रिया