काठमाडौं । ट्रेड टावर लिमिटेडले भाेलि अर्थात् जेठ १४ गतेदेखि प्राथमिक साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपछि अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागेको जनाएको छ ।
कम्पनीले १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा जेठ १४ देखि १९ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ २८ गतेसम्म आवेदन दिन सकिने छ ।
यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।




















प्रतिक्रिया