Logo

अर्थ

सार्वजनिक संस्थानबाट प्राप्त हुने लाभांश ३५ प्रतिशतले घट्यो



काठमाडौं । सार्वजनिक संस्थानबाट सरकारले पाउने लाभांश ३५ प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७९/८० मा सरकारले सार्वजनिक संस्थानबाट १३ अर्ब ७५ करोड लाभांश प्राप्त गरेकोमा आर्थिक वर्ष २०८०/८१ मा सरकारले जम्मा ८ अर्ब ८३ करोड मात्रै प्राप्त गरेको छ ।

अर्थमन्त्री विष्णु पैडेलले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार संस्थानबाट सरकारलाई प्राप्त हुने लाभांश ३५ प्रतिशत घटेको पाइएको हो । आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो ।

नाफामा रहेका संस्थानहरूको मात्रै खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ । त्यस्तै नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६३ करोड रहेको छ ।

नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८‍.६५ प्रतिशतले बढेको छ ।

सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी ७ खर्ब ३ अर्ब ९३ करोड पुगेको छ । जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रहेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १४:५४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।