Logo

प्रमुख समाचार

डा. अमरेश सिंहले कल डिटेल्स मागेपछि कानुन मन्त्रीको नियमापत्ति



काठमाडौँ । स्वतन्त्र सांसद डा अमरेश सिंहले कानुनमन्त्री अजयकुमार चौरासियाको कल डिटेल्स सार्वजनिक गर्न माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले कुनै मुद्दा पर्दा मन्त्री चौरासियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको आफूसँग प्रमाण रहेको भन्दै यस्तो माग गरेका हुन् ।

उनले न्याय परिषदको औचित्य समेत समाप्त भएकाले विघटन गर्नुपर्ने माग गरे । ‘न्यायपरिषदको औचित्य आवश्यकता छैन । न्यायपरिषद एउटा सिन्डिकेट हो ।

त्यो सिन्डिकेट प्रणालीलाई समाप्त गर्नुपर्छ किनकि यो राजनीतिक सिन्डिकेट हो’, सिंहले भने, ‘दोस्रो कुरा नेता र न्यायाधीशको कल डिटेल्स सार्वजनिक हुनुपर्छ ।

म सुन्दै आइरहेको छु कि कानुनमन्त्री बिहान बिहान कसैको मुद्दा छ भने एक नम्बर न्यायाधीशलाई फोन गर्नुहुन्छ । उच्चमा मुख्य न्यायाधीश र सर्वोच्चका न्यायाधीशहरुलाई फोन गर्नुहुन्छ ।

त्यसकारण म माग गर्छु कानुनमन्त्रीको कल डिटेल्स बाहिर आओस् ।’ उनले किन न्यायाधीशलाई फोन गरेको भन्दै न्यायालय प्रभावित पार्न नपाइने बताए । ‘कल डिटेल्स मागौँ गल्ती भए म सांसद पद त्याग गर्छु’, सिंहको भनाई छ ।

उनले पीडितहरूले न्याय पाउन नसकेको भन्दै दलले न्याय पाए पनि जनताले न्याय नपाएको बताए । उनले हरेक अदालत दलीय छायामा रहेको पनि बताए ।

सिंहले यस्तो बताइरहँदा कांग्रेसकी सुशीला थिङले नियमापत्ति जनाएकी थिइन् । उनले नियम २३ लाई उद्धरण गर्दै विषय समद्दता नभएकाले कानुन मन्त्रीको कल डिटेल्सको कुरा हटाउन माग गरिन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार २१:०३   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।