काठमाडौं । कमिल मिशराको कीर्तिमानी शतक र कप्तान रवि बोपारासँगको उत्कृष्ट साझेदारीमा चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल को एलिमिनेटरमा काठमाडौं गोर्खाजसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०४ रन बनाएको हो।
चितवनका लागि कमिल मिशराले अविजित १२० रनको योगदान दिए। उनले ५९ बलमा पाँच चौका र १० छक्का प्रहार गरे। यो एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत रन हो। यसअघि कर्णाली याक्सका मार्क वाटले बनाएको ११४ रनको कीर्तिमानलाई मिशराले उछिनेका हुन्।
मिशराले कप्तान रवि बोपारासँग तेस्रो विकेटका लागि १५४ रनको महत्वपूर्ण साझेदारी गरे। बोपाराले ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५३ रन बनाए।
चितवनका देव खनालले १७ रन जोड्दा डेविड मलान खाता नखोली आउट भए। विवेक यादवले आठ रन बनाए भने कुशल मल्ल शून्य रनमा अविजित रहे।
काठमाडौंका करण केसी र रासिद खानले समान दुई विकेट लिए।
यस एलिमिनेटरको विजेता टोलीले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायरमा पुग्ने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रिएका छन्।




















प्रतिक्रिया