Logo

अर्थ

वीरगञ्ज भन्सारमा भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब



वीरगञ्ज । चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अर्ब २६ करोड मूल्यबराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन् ।

यो नाका हुँदै कुल आयातको ७६ दशमलव ८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यो नाका हुँदै आयात–निर्यातको सबैभन्दा धेरै हिस्सा छिमेकी मुलुक भारतसँग हुने गरेको छ ।

यो नाका हुँदै हुने वैदेशिक व्यापार भारतसँग धेरै जोडिएको छ ।

यो नाकामा भारतपछि धेरै वस्तु तथा सामान भित्रिने मुलुकमा अर्जेन्टिना पर्दछ । चालु आवको ११ महिनामा अर्जेन्टिनाबाट रु ४६ अर्ब ७४ करोड मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन् ।

सो मुुलुकबाट भित्रिएका सामानको हिस्सा भने आठ दशमलव २७ प्रतिशत छ । त्यस्तै, छिमेकी मुलुक चीनबाट सोही अवधिमा रु २८ अर्ब ८६ करोडको वस्तु तथा सामान यहाँ भित्रिएका छन् ।

चीनबाट आयात हुनेको हिस्सा भने एक दशमलव २२ प्रतिशत छ । चालु आवको ११ महिनामा ५० वटा मुलुकबाट वीरगञ्ज नाकामा रु पाँच खर्ब ६५ अर्ब ४२ करोड मूल्यका वस्तु तथा सामान आयात भएका छन् ।

त्यसैगरी, वीरगञ्ज नाकाबाट चालु आवको ११ महिनामा रु ९१ अर्ब ५१ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।

यो नाका हुँदै ११ महिनामा रु ८६ अर्ब ९७ करोडका वस्तु तथा सामान भारत निर्यात भएको छ ।

भारत निर्यातको हिस्सा भने ९५ दशमलव ०५ प्रतिशत छ । यो नाका हुँदै सोही अवधिमा धेरै निर्यात हुने दोस्रो मुलुक अमेरिका रहेको छ ।

जहाँ कुल निर्यातको दुई दशमलव ३८ प्रतिशत अर्थात् रु दुई अर्ब १८ करोड मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको छ । त्यस्तै अफगानिस्तानमा पनि यो नाका हुँदै सोही अवधिमा रु ६८ करोडको वस्तु तथा सामान निर्यात भएको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलवार ०७:२२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।