काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको अभियोगमा उनीहरुविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा बिहिबार मुद्दा दायर गरेको हो ।
तत्कालीन दुनै गाविस २ र ३ नम्बर वडा पर्ने तिप्लामा दुर्गा प्रावि नामको कुनै विद्यालय नै नभएको पाइएको अख्तियारले जनाएको छ ।
हालको ठूलीभेरी नगरपालिका– ४ पर्ने तिप्लामा श्री लालिगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा छ । तर, लालिगुराँस आधारभूत विद्यालयका नाममा आव २०६७/०६८ मा भवन निर्माणका लागि कुनै पनि बजेट बिनियोजन नभएको र भवन पनि नबनेको पाइएको छ ।
सोही अवधिमा जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख ईन्जिनियर रविचन्द्र पजियार, लेखपाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाले काल्पनिक विद्यालय खडा गरी भवन निर्माणका नाममा ७ लाख ६० हजार रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारले जनाएकाे छ ।




















प्रतिक्रिया