Logo

कोशी प्रदेश

वडाध्यक्षले पालिका अध्यक्षलाई ‘बाउको सम्पत्ति हो’ भनेपछि ग्रामथानमा विवाद



विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीलाई ‘बाउको सम्पत्ती हो ?’ भनेर प्रश्न गरेपछि दुई जना वडाध्यक्ष निलम्बनमा परेका छन् ।

गाउँपालिका अध्यक्ष माझीले गाउँ सभामा अनुशासन भङ्ग गरेको आरोप लगाउँदै दुई जना वडाध्यक्षलाई सभामा सहभागी हुनबाट ७ दिनका लागि निलम्बन गरेका हुन् ।

अध्यक्ष माझीले बिहीबार एक पत्र जारी गर्दै वडा नम्बर ५ का अध्यक्ष भेषनारायण चौधरी र वडा नम्बर ७ का अध्यक्ष वीरेन्द्र चौधरीलाई सात दिनसम्म गाउँ सभामा आउन नपाउने आदेश दिएका हुन् ।

पत्रमा गाउँ सभाको १७ औं बैठकमा उनीहरूले अनुशासन भङ्ग गरेको, अपमानजनक शब्द बोलेको र सभाको प्रतिष्ठामा धक्का पुर्‍याएको आरोप लगाइएको छ ।

अध्यक्ष माझीले ‘ग्रामथान गाउँपालिका सभा सञ्चालन कार्यविधि २०७४ को दफा १६९४०’ अनुसार उक्त आदेश दिएको जनाएका छन् ।

निलम्बित दुवै वडाध्यक्ष नेकपा एमालेबाट निर्वाचित हुन् भने अध्यक्ष माझी नेकपा माओवादी केन्द्रबाट विजयी भएका हुन् ।

निलम्बनमा परेका वडाध्यक्षहरूले भने आफूहरूले प्रक्रियागत प्रश्न उठाउँदा अध्यक्षले निरंकुश तरिकाले कारबाही गरेको बताएका छन् ।

पालिका अध्यक्ष माझीले भने गाउँ सभामा भएको अभद्र व्यवहार र पालिकाको कामकारबाहीमा निरन्तर गरिएको अवरोधको कारण निलम्बन गरेको जनाएका छन् ।

‘अध्यक्षको कुरा नमान्ने, आफ्नै हिसाबले बोल्ने, टेबल ठोक्ने, चुप लाग्न आग्रह गर्दा पनि अटेर गर्ने जस्ता गतिविधि भए । गाउँ सभा सञ्चालन ऐन र कार्यविधिको ठाडो उल्लंघन भयो । यस्तो अराजकतालाई पालिकाले सहन सक्दैन,’ उनले भने ।

उनले आफूलाई ‘यो तिम्रो बाउको हो ?’ जस्ता अमर्यादित कुरा गरेकोले निलम्बन गर्नुपरेको बताए । ‘पछिल्लो १८ पटक कार्यपालिका बैठक बोलाउँदा जम्मा २ वटा बैठक मात्र राम्रोसँग सम्पन्न भए, १६ वटा बैठक उहाँहरूकै कारणले असफल भए,’ माझीले भने ।

२०७९ को निर्वाचनमा विजयी तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधनपछि भएको उपनिर्वाचनमा माझी विजयी भएका थिए । उनी निर्वाचित भएदेखि नै पालिकामा विभिन्न विवादहरू उत्पन्न हुँदै आएका छन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार २२:०२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।