Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओलीद्वारा झापामा सडक उद्घाटन, स्पेन भ्रमणबारे अराजक प्रचारको खण्डन



झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको बताएका छन् ।

झापाको दमक नगरपालिका अन्तर्गत मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजना उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्ता झूटो प्रचारप्रति प्रतिक्रिया जनाउँदै भने, ‘त्यस्ता घटिया प्रचारको जवाफ दिनु आवश्यक छैन। हामीले गरेको काम जनताले देखेका छन्।’

विश्व बैंकको सहयोगमा सम्पन्न सो ४.८६ किलोमिटर सडक नेपालभरका १७ उत्कृष्ट सडक आयोजना मध्ये एक हो । ४४ करोड २४ लाख रुपैयाँको लागतमा समयमै सम्पन्न यो सडकलाई नमूना आयोजना मानिएको छ ।

प्रधानमन्त्री ओलीले मेचीदेखि महाकालीसम्म विकासको लहर ल्याउने अभियान अन्तर्गत यो सडक निर्माण भएको बताए । साथै उनले दमकको बेलडाँगीमा अन्तर्राष्ट्रिय स्तरको विशाल रंगशाला निर्माण हुने घोषणा गर्दै यसले पूर्वी नेपालको खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री शेरधन राई र उदय थापा लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार १२:४०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।