काठमाडौं । सल्यानको खलंगामा जन्मिएर नेपालको २७औँ प्रधानमन्त्री बनेका स्वर्गीय मरिचमान सिंह श्रेष्ठको शालिक अनावरण गरिएको छ।
शारदा नगरपालिका–१, श्रीनगरस्थित रुकुम चोकमा सल्यानी युवाहरूले निर्माण गरेको शालिक स्थानीय ज्येष्ठ नागरिक लोकबहादुर थापाले अनावरण गरेका हुन्। शालिक अनावरणसँगै उक्त चोकको नाम परिवर्तन गरी मरिचमान चोक नामकरण गरिएको छ।
विसं १९९७ कात्तिक १७ गते सल्यानको खलंगा बजारमा जन्मिएका श्रेष्ठले प्रारम्भिक शिक्षा आफ्नै जिल्लामा हासिल गरेका थिए। शिक्षण पेसाबाट सार्वजनिक जीवन सुरु गरेका उनले खलंगास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा शिक्षक तथा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए ।
शिक्षण पेसामा आबद्ध रहँदै राजनीतिमा सक्रिय भएका श्रेष्ठ विसं २०३० मा राष्ट्रिय पञ्चायतको सदस्य बनेका थिए। विसं २०३८ मा राष्ट्रिय पञ्चायतको अध्यक्ष बनेका उनी विसं २०४३ मा नेपालको २७औँ प्रधानमन्त्री नियुक्त भएका थिए। उनले २०४६ सालसम्म सरकारको नेतृत्व गरेका थिए।
उनको प्रधानमन्त्री कार्यकालमा नेपाल–भारत सम्बन्धमा गम्भीर उतारचढाव आएको थियो। विसं २०४५ मा व्यापार तथा पारवहन सन्धिसम्बन्धी विवाद चर्किएपछि भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो। त्यस समयमा पेट्रोलियम पदार्थ, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या भएपछि श्रेष्ठ नेतृत्वको सरकारले वैकल्पिक माध्यमबाट ती सामग्री आयात गर्ने प्रयास गरेको थियो। राष्ट्रिय स्वाधीनताको विषयमा अडान लिएको भन्दै समर्थकहरूले उनलाई राष्ट्रवादी नेताका रूपमा स्मरण गर्ने गरेका छन्।
विसं २०४६ मा बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाका लागि जनआन्दोलन सुरु भएपछि उनको सरकार आलोचित बनेको थियो। आन्दोलन उत्कर्षमा पुगेपछि श्रेष्ठले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्था पुनःस्थापना भएको थियो।
प्रधानमन्त्री पदबाट बाहिरिएपछि उनी सक्रिय राजनीतिबाट टाढिएका थिए। काठमाडौँमा गाईपालन तथा कुखुरापालन गर्दै सामान्य जीवन बिताएका श्रेष्ठको विसं २०७० साउन ३० गते निधन भएको थियो । उनी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए ।
सल्यानमा जन्मिएर राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका श्रेष्ठको योगदान र व्यक्तित्वलाई भावी पुस्तासम्म परिचित गराउने उद्देश्यले शालिक निर्माण गरिएको आर्थिक संयोजक खिम डि.सी.ले जानकारी दिए। शालिक निर्माण सल्यानी युवाहरूको पहलमा गरिएको हो ।




















प्रतिक्रिया