Logo

अर्थ

पशु चिकित्सा परिषद् संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता



काठमाडौं । नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभामा दर्ता भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आइतबार प्रतिनिधिसभामा लगेका हुन् ।

मन्त्री अधिकारीका अनुसार नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ लागु भएको २७ वर्ष व्यतित् हुन लाग्दा पशु चिकित्सा क्षेत्रका आयाममा व्यापक परिवर्तन आएको छ । यसकारण ऐन संशोधन गर्न लागिएको हो ।

ऐन संशोधन मार्फत पशु चिकित्सकको नाम दर्ता, पशु चिकित्सा व्यवसाय तथा अध्ययन अध्यापन गर्ने शैक्षिक संस्थाको नियमन र पशु चिकित्सकको क्षेत्राधिकारको विषयलाई प्राविधिक दृष्टिकोणबाट थप विशिष्टकृत गर्न खोजिएको छ ।

पशु चिकित्सा व्यवसायको परिभाषा, पशु चिकित्सकको नाम दर्ता परीक्षा सञ्चालन, विशेषज्ञ दर्ता, कसुर र सजायमा समयानुकूल परिमार्जन गर्ने गरी विधेयक ल्याएको मन्त्री अधिकारीले बताएका छन् ।

प्रत्येक नागरिकलाई नेपालको संविधानको धारा ३६ ले खाद्यको हक र धारा ४४ ले गुणस्तरिय वस्तु र सेवा उपभोग गर्न पाउने मौलिक हकको व्यवस्था गरेको छ ।

पशु, पशुजन्य पदार्थ र पशु उत्पादन सामग्रीको गुणस्तरिय उत्पादन र वितरणमा पशु चिकित्सकहरूको नेतृत्वदायी भूमिका हुन आउँछ । यसकारण विधेयक ल्याएको मन्त्री अधिकारीले विधेयकमै उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार १३:०१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।