काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करको घटनाबारे संसदमा प्रश्न उठाउँदै त्यसको संरक्षण कोबाट भइरहेको छ भन्ने प्रश्न गरेकी छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्री सहभागी स्पेन भ्रमणसँगै भिजिट भिसा प्रकरणले झनै गम्भीरता पाएको बताइन् । उनले भनिन्, ‘सदनमा आन्दोलन भइरहेका बेला पनि बिचौलियाहरू निर्भिक छन्- न डर, न सङ्कोच, न कुनै भय। आखिर कसको संरक्षण, कसको अकरमन्यता हो जसका कारण यस्तो आँट पलाएको हो?’
श्रेष्ठले यो प्रकरणको गहिरो छानबिन आवश्यक भएको भन्दै पुनः संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोग गठनको माग गरिन् । उनका अनुसार विगतमा बनेका कार्यदलहरू जनताको आँखामा छारो हाल्ने बाहेक केही थिएनन् । ‘फेरि पनि त्यस्तै कार्यदल बनाउने हो भने यो जनतालाई झुक्याउने प्रपञ्च मात्रै हुन्छ। आखिर किन सरकार डराइरहेको छ? के एक व्यक्तिका कारण सिङ्गो सरकार नै मौन रहनुपर्ने हो?’ उनले आक्रोश पोखिन् ।
श्रेष्ठले प्रधानमन्त्रीकै नेतृत्वमा रहेको सुशासन आयोगको भूमिकामाथि पनि प्रश्न उठाउँदै भनिन्, ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं ।’




















प्रतिक्रिया