Logo

प्रमुख समाचार

संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपति कार्यालयमै



काठमाडौं । प्रतिनिधिसभाबाट असार २५ गते पारित भएको संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी पहिलो संशोधन विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पुगेको छ दिनसम्म अघि बढ्न सकेको छैन ।

प्रतिनिधिसभा बैठकले राष्ट्रियसभाको संशोधन स्वीकार गर्दै पारित गरेको थियो ।

संशोधन गरिएको व्यवस्थालाई लिएर सत्तारुढ दलहरुभित्रै विवाद भए पनि शीर्ष नेताको दबाबका कारण पारित गरिएको थियो ।

जसमा उदाहरणसहित लेखिएको छ– परिषद्मा अध्यक्ष र पाँचजना सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा तीनजना सदस्यसहित कम्तीमा चारजना, अध्यक्ष र चारजना सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा दुईजना सदस्यसहित कम्तीमा तीनजना, अध्यक्ष र तीनजना सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा दुईजना सदस्यसहित कम्तीमा तीनजना र अध्यक्ष र दुईजना सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा एकजना सदस्यसहित कम्तीमा दुईजना उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिनेछ ।”

राष्ट्रिय सभाबाट संशोधन भएर आएको विषय जस्ताको त्यस्तै पारित गर्न सत्तारुढ कांग्रेस र एमालेभित्रै शीर्ष नेताको दबाब रहेको एक सदस्यले जानकारी दिए ।

“हामीले समितिभित्र पनि धेरै दबाब महसुस गर्नुपर्‍यो,” राज्य व्यवस्था तथा सुशासन समितिका एक सदस्यले बाह्रखरीसँग भने, “यहाँ संविधानभन्दा पनि फरक तरिकाले कल्पना गर्दै व्यवस्था गर्न खोजिएको छ । यसलाई सच्याउनुपर्छ भन्ने हाम्रो माग यथावतै छ तर पार्टीका शीर्ष नेताको दबाबका कारण हामीले रोक्न सकेनौँ ।”

सत्तारूढ दल नेपाली कांग्रेसले राष्ट्रियसभाको संशोधनबारे स्पष्टता खोजेपछि प्रतिनिधिसभामा विधेयक एक दिन रोकिएको थियो ।

संवैधाननिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । जसमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधिसभाले संवैधानिक परिषद्का अध्यक्ष र तत्काल कायम रहेका कम्तीमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको थियो ।

राष्ट्रियसभाले भने संशोधन गरी अध्यक्ष र एक सदस्यबाट पनि निर्णय हुन सक्ने व्यवस्था गरेको थियो ।

प्रतिनिधिसभाले राष्ट्रियसभाको संशोधन स्वीकार गरेपछि सभामुखले प्रमाणित गर्दै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको छ दिन बितिसकेको छ ।

“हामीले छ दिन भइसक्यो राष्ट्रपतिकहाँ प्रमाणिकरणका लागि पठाएको तर प्रमाणीकरण भएको बारेमा जानकारी छैन,” संसद् सचिवालयएका एक अधिकारीले भने ।

राष्ट्रपति कार्यालयले भने यसबारेमा केही बताएको छैन ।

अध्यक्ष र एकजना सदस्यले मात्रै पनि निर्णय गर्न सक्ने व्यवस्था नै ‘खतरनाक’ रहेको सचिवालयका ती अधिकारीको टिप्पणी छ ।

“यो संविधानको मर्मविपरीत पनि छ,” उनले भने, “प्रजातान्त्रिक प्रणालीविपरीत छ ।”

उनको आशंकाअनुसार निर्वाचनका बेला संवैधानिक परिषदमा तीन सदस्यमात्रै कायम रहनेछन् ।

त्यसबेला सभामुख, उपसभामुख र प्रतिपक्ष दलको नेता रहने छैनन् ।

संवैधानिक परिषद्को अध्यक्षले त्यही मौकामा प्रधानन्यायाधीशलाई हातमा लिएर निर्णय गराउने चलखेलको रुपमा बुझिएको समितिका अर्का एक सदस्यको आशंका छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार ०७:३३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।