विराटनगर । दिगो र आधुनिक फोहोरमैला व्यवस्थापन प्रणाली स्थापना गर्ने उद्देश्यसहित कोसी प्रदेश सरकार तथा मोरङ र इलामका ६ स्थानीय तहबीच रणनीतिक साझेदारी समझदारी भएको छ ।
कोसी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र मोरङका रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, कानेपोखरी गाउँपालिका, धनपालथान गाउँपालिका तथा इलामका सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
मन्त्रालयको तर्फबाट निमित्त सचिव रमेश श्रेष्ठले हस्ताक्षर गरेका छन् । स्थानीय तहहरूबाट रंगेली नगरप्रमुख दिलिप अग्रवाल, सुनवर्षी नगरप्रमुख श्याम राजवंशी, कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, धनपालथान अध्यक्ष जिबछ गच्छदार, सूर्योदय नगरप्रमुख रणबहादुर राई र रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सहकार्यअनुसार मोरङका चार पालिकाको फोहोर व्यवस्थापन केन्द्र रंगेलीमा रहनेछ भने इलामका दुई पालिकाको केन्द्र सूर्योदय नगरपालिकामा स्थापना गरिनेछ । यो परियोजनाले प्रदेशलाई स्वच्छ, स्वस्थ र सुन्दर बनाउने दीर्घकालीन लक्ष्य लिएको छ ।
नेपालको संविधानले स्थानीय तहलाई सरसफाइसम्बन्धी जिम्मेवारी दिएको छ । त्यसअनुसार कोसी प्रदेश सरकारको फोहोरमैला व्यवस्थापन नीति, २०७७ अनुसार काम अघि बढाइने छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय परियोजनाको मुख्य कार्यान्वयनकर्ता रहनेछ । मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्यांकन, बजेट व्यवस्थापन, प्राविधिक सहयोग तथा पूर्वाधार विकासमा नेतृत्व दिनेछ । मन्त्री भूपेन्द्र राईले यो सम्झौताले फोहोर व्यवस्थापनमा कोसेढुंगा सावित हुने बताए ।
साझेदार पालिकाहरूले स्थानीयस्तरमा परियोजना कार्यान्वयन, ल्यान्डफिल साइटका लागि जग्गा व्यवस्थापन, जनचेतना अभिवृद्धि, फोहोरको छुट्टयाउने, संकलन तथा प्राथमिक प्रशोधन कार्यमा सहयोग गर्नेछन् ।
परियोजनाको प्रभावकारी कार्यान्वयन, अनुगमन तथा मूल्यांकनका लागि सहभागी सबै पालिकाका प्रतिनिधिहरू सम्मिलित संयुक्त कार्य समिति गठन गरिनेछ । समितिले कार्य प्रगतिको समीक्षा, समस्या समाधान र परियोजना सहजीकरण गर्नेछ ।



















प्रतिक्रिया