ब्रसेल्स । बेल्जियमले यस महिनाको अन्त्यमा हुने संयुक्त राष्ट्रसंघ महासभामा प्यालेस्टाइन राज्यलाई आधिकारिक मान्यता दिने भएको छ। बेल्जियमका परराष्ट्रमन्त्री माक्सिम प्रेभोले मंगलबार बिहान सामाजिक सञ्जाल एक्समार्फत यो घोषणा गरेका हुन्।
प्रेभोले लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघ अधिवेशनमा बेल्जियमले प्यालेस्टाइनलाई मान्यता दिनेछ! साथै इजरायली सरकारले खेलेका भूमिकाविरुद्ध कडा प्रतिबन्ध लगाइनेछ।’
उनका अनुसार बेल्जियमले इजरायलमाथि १२ वटा कडा प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ। यसमा इजरायली ‘अवैध बस्ती’हरूबाट आउने उत्पादन आयातमा प्रतिबन्ध र इजरायली कम्पनीहरूसँगको सार्वजनिक खरिद नीतिको पुनरावलोकन पनि समावेश हुनेछ।
परराष्ट्रमन्त्री प्रेभोले यो कदम ‘प्यालेस्टाइन, विशेष गरी गाजामा भइरहेको मानविक त्रासदीको बिचमा’ लिइएको बताए।
यसअघि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पनि सेप्टेम्बर ९ देखि २३ सम्म न्युयोर्कमा हुने महासभामा प्यालेस्टाइनलाई मान्यता दिने घोषणा गरेका थिए। त्यसपछिका दिनमा अन्य केही देशहरूले पनि मान्यता दिने तयारी गरेका छन्।
हालसम्म करिब १४७ देशहरूले, अर्थात् राष्ट्रसंघका ७५ प्रतिशत सदस्य राष्ट्रहरूले, प्यालेस्टाइनलाई मान्यता दिइसकेका छन्।
बेल्जियमको यो घोषणा इजरायलको गाजामा जारी आक्रमणका बिच आएको हो, जसमा अहिलेसम्म कम्तीमा ६३,४५९ जनाको ज्यान गएको र १,६०,२५६ जना घाइते भएको तथ्यांक छ।
यसअघि जुलाईमा बेल्जियमका अभियोजकहरूले गाजामा युद्ध अपराधमा संलग्न भएको आरोपमा दुई इजरायली सैनिकविरुद्धको उजुरी अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा पेस गरेका थिए।




















प्रतिक्रिया