केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई नयाँ दिशा दिने कोसिसबीच राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार साँझ शीतल निवासमा भेटवार्ता भएको छ।
वर्तमान संविधान र संसद्अन्तर्गतका दुई महत्वपूर्ण व्यक्तिहरूबीच बिहीबार साँझ ७ बजे शीतल निवासकै पछाडिको भवनमा भेटवार्ता भएको हो । उक्त भेटवार्ताको पुष्टि सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले खबरहबसँग गरेका छन् ।
उक्त भेटका क्रममा सभामुख घिमिरेले संसद् बैठक बस्नुपर्ने बताएका थिए । त्यसका लागि संसद् बैठक आह्वान गर्नुपर्ने धारणा उनले राष्ट्रपतिसँग राखेका थिए ।
पछिल्लो विकसित परिस्थितिपछि उत्पन्न जटिलता र संकटको निकासका उपायबारे सभामुख घिमिरेले राष्ट्रपतिसँग जिज्ञासा राखेका छन् ।
‘सभामुखज्यूले संसद् बस्नुपर्छ, बोलाउनुपर्छ भन्नुभएको । मंगलबारदेखि विकसित पछिल्लो परिस्थितिको निकासका उपायबारे पनि परामर्श लिनु भएको छ’, उनले भने, ‘सभामुखको जिज्ञासापछि राष्ट्रपतिले यही संविधानको अधीनमै रहेर यसै भित्रबाट निकास खोज्न पहल गर्ने जवाफ दिनु भएको छ।’





















प्रतिक्रिया