Logo

प्रमुख समाचार

प्रधानमन्त्री बन्ने इच्छा नदेखाएका मेयर बालेन पार्टी खोल्ने गृहकार्यमा जुटे



काठमाडौं । जेनजी प्रदर्शनका बेला सबैभन्दा बढी खोजिएका पात्र हुन्, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ।

हिंसात्मक बनेको भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अनि उनैको सिफारिसमा प्रतिनिधिसभा विघटन पनि भयो ।

अन्तरिम सरकारको नेतृत्व बालेनले गर्नुपर्ने माग जेनजीबाट आएको थियो । महानगर प्रमुख बालेनले प्रधानमन्त्री बन्ने इच्छा नदेखाएको र उनैको इच्छामा पूर्वप्रधानन्यायाधीश कार्कीको नाम प्रस्ताव भएको हो ।

बालेनले पनि उनै कार्कीलाई समर्थन जनाउँदै संसद् विघटनको सशर्त अघि सारेका थिए । तर, बालेन जेनजी न वार्ता र न मृतकका शवयात्रामै सहभागी थिए ।

उनी त केवल सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाट्स पोस्ट गर्दै समर्थन र आफ्ना सर्त अघि सारेका थिए । बालेन नेतृत्व लिन तयार नभएपछि धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ आफूलाई प्रधानमन्त्री बनाइनुपर्ने दाबीसहित काठमाडौं आइपुगेका थिए ।

यसै विषयमा हर्कले बालेनको चर्को विरोध पनि गरे । स्वतन्त्र रू पमा निर्वाचित दुई मेयरबीच सामाजिक सञ्जाल फेसबुकमा जुहारी नै चल्यो ।

यस विषयमा मेयर सचिवालयका एक सदस्यले भने, “मेयरजस्तो पदमा बसेको मान्छे प्रदर्शनमा भाग लिने कुरा भएन । पदीय जिम्मेवारीका हिसाबले पनि मिलेन । यसै पनि सुरक्षा चुनौती थियो ।”

यतिबेला बालेनका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले गृह–कानुन मन्त्रालयको बागडोर सम्हालेका छन् । बालेनकै बलियो साथका कारण अर्याल गृहमन्त्री बनेको अनुमान लगाइँदै छ । त्यस्तै, कुलमान घिसिङ पनि मन्त्री बनेका छन् ।

कठिन परिस्थितिमा पनि बालेन किन ब्याक भए र अब पार्टी खोलेरै चुनावमा सहभागी हुने गृहकार्यमा जुटेका हुन् ? भन्ने आम चासो छ । बालेन सचिवालयका एक सदस्यका अनुसार, यतिबेला बालेनलाई पार्टी खोलेर चुनावमा सहभागी हुनुपर्ने जबरजस्ती दबाब सिर्जना भइरहेको छ ।

“अनुभवका आधारमा पनि कठिन परिस्थितिमा प्रधानमन्त्री कार्कीले सबै कुराहरू मिलाउन सक्ने भएकाले उहाँलाई समर्थन गर्नुभएको हो । ६ महिनाका लागि उहाँले गरिसकेपछि के गर्ने भन्ने कुरा त छँदैछ । मेयरले पार्टी खोलेर आउन् भन्नेमा ठूलो आश गरेको छ ।

संघीय राजधानी काठमाडौंका मेयर भएकाले पनि बालेन यतिबेला महानगरकै काममा व्यस्त रहेको ती सदस्यले बताए । “६ महिनाका लागि प्रधानमन्त्री बन्नभन्दा महानगरभित्रै गर्नुपर्ने थुप्रै काम छन् । त्यसैले ती काम सक्न मेयर लागिरहनुभएको छ । अन्य कुरा महानगरलाई एउटा ट्रयाकमा हिँडाई सकेपछिको कुरा हो,” उनले थपे ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफूलाई असहयोग गर्दै आएको बालेनले बताउँदै आएका थिए । महानगरको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा विवाद उत्पन्न भएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार २१:४५   :  बजे

303
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।