Logo

प्रमुख समाचार

पर्व छठको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले भनेः ‘परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ’



नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

लोकआस्था, सामाजिक एकता र प्रकृतिप्रतिको कृतज्ञताको महान् पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै उनले सबै मिलेर समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्नुपर्ने बताएका छन् ।

संयोजक प्रचण्डले आजको चुनौतीपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठले दिने आत्मबल, धैर्य र आशावादको सन्देश झन् महत्वपूर्ण बनेको उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘छठ पर्वले प्रकृति र मानवभित्र विद्यमान अँध्यारोलाई चिर्दै सबैमा मनको उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा जगाओस् । देशमा शान्ति, समृद्धि र स्थायित्वको नयाँ प्रभात उदाओस् भन्ने हार्दिक कामना गर्दछु ।’

मधेस–तराईको मुख्य चाडका रूपमा मनाइने छठ पर्व हाम्रो संस्कृति, परम्परा, श्रम–सम्बन्ध र जनजीवनसँग गहिरो रूपमा जोडिएको पर्व हो । यसले मानव र प्रकृतिबीचको सम्बन्धलाई अझ सशक्त बनाउँदै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउँछ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार ०७:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।