नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारीमा लागेको छ । आज बसेको विघटित प्रतिनिधिसभाका एमाले सांसदहरूको बैठकले हस्ताक्षरसहित रिट दर्ता गर्ने निर्णय गरेको हो ।
बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले पत्रकारसँग कुरा गर्दै भने, “प्रतिनिधिसभा विघटन संविधानविपरीत भयो भन्ने हाम्रो निष्कर्ष छ । त्यसैले अब कानुनी प्रक्रिया मार्फत प्रतिनिधिसभा पुनःस्थापना गर्ने दिशा लिएका छौँ ।” बर्तौला र सचेतक सुनिता बराललाई रिट दर्ताका लागि आधिकारिक जिम्मेवारी दिइएको छ ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन देश, संविधान र जनादेशविरुद्ध भएको दाबी गर्दै अदालत र राजनीतिक दुवै मार्गबाट संघर्ष अघि बढाउने धारणा राखेका थिए । उनले भने, “हामी कानुनी उपचारमा जाँदैछौँ, तर आवश्यक परे शान्तिपूर्ण आन्दोलन पनि हुन्छ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि एमाले दृढ छ ।”
स्रोतका अनुसार एमालेले रिट निवेदनमा संविधानको धारा ५२, ७६ र ८५ का प्रावधान उद्धृत गर्दै प्रधानमन्त्रीको सिफारिसमा गरिएको विघटन असंवैधानिक भएको तर्क प्रस्तुत गर्नेछ । रिटमा राष्ट्रपति कार्यालयले प्रमाणीकरण नगरी स्वीकृति प्रदान गरेको निर्णय पनि असंवैधानिक रहेको उल्लेख गरिने बताइएको छ ।





















प्रतिक्रिया