जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।
जसपा रौतहटले आज दुर्गाभगवती गाउँपालिका–४ मा आयोजना गरेको भेलामा उनले चुनाव घोषणा गरिए पनि हालकै अवस्थामा चुनावको वातावरण बन्नेमा द्विविधा रहेको धारणा राखे ।
अध्यक्ष यादवले मतदाताले निर्धक्क भएर मतदानस्थल पुगेर मत खसाल्ने वातावरण बनाउन सरकारले सम्पूर्ण ध्यान लगाउनुपर्नेमा जोड दिए । “नेपालको इतिहासमै पहिलोपटक प्रहरीको मनोबल गिराउने काम भएको छ । निर्वाचनमा सुरक्षा दिने प्रहरीकै मनोबल उकास्न सकिएन भने समस्या हुन्छ । त्यसैले यसतर्फ बढी जोड दिनुपर्छ”, उनले भने,“सरकारले सेना परिचालन गरेर भए पनि चुनाव गराउँछु भनिरहेको छ । यो लोकतान्त्रिक हुँदैन । लोकतन्त्रमा सेना परिचालन गरेर चुनाव गरिँदैन, विश्वका कुनै पनि लोकतान्त्रिक देशमा सेना परिचालन गरेर चुनाव भएको देखिँदैन ।”





















प्रतिक्रिया