राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले विभिन्न १६ बुँदे निर्णय गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बिहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले संगठन, आगामी कार्यक्रम र समसामयिक राजनीतिक परिस्थितिसम्बन्धी १६ बुँदे निर्णय पारित गरेको छ।
बैठकले सबै तहका पार्टी संरचनाको म्याद विधान अनुसार ६ महिनाका लागि थप गर्ने निर्णय गरेको छ। यससँगै अध्यक्ष लिङ्देनसहित तलैसम्मका कार्यसमितिको कार्यकाल ६ महिनालाई लम्बिएको छ ।
अब ६ महिनापछि मात्रै राप्रपाले महाधिवेशन गर्ने छ । उता मुलुकको वर्तमान परिस्थितिमा राप्रपाको धारणा अवगत गराउन प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने पनि बैठकले तय गरेको छ।
पूर्वराजा, राजनीतिक दल र जेन-जी आन्दोलनबीच नयाँ समझदारी निर्माण गर्न दबाब सिर्जना गर्ने उद्देश्यले मंसिर २३ गते काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
देशव्यापी सभा र प्रदर्शन आयोजना तथा व्यवस्थापनका लागि प्रवक्ता ज्ञानेन्द्र शाही, प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री रवीन्द्रप्रताप शाह र सह-महामन्त्री धन बहादुर बुढा सम्मिलित समिति पनि गठन भएको छ।
समान विचार भएका दल, अभियान र व्यक्तिसँग सहकार्य, मोर्चा र एकताको लागि वरिष्ठ उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुव बहादुर प्रधान रहेको वार्ता समिति गठन गरिएको छ।
अनुशासन समितिको सिफारिसअनुसार मधेश प्रदेश सभा सदस्य कञ्चन बिच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गर्ने र उनलाई प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय भएको पनि श्रेष्ठले बताए ।





















प्रतिक्रिया